Sunday, May 31, 2026
spot_img

पृथ्वी राजमार्ग विस्तारमा बिजुलीका पोल बाधक

spot_img

Share

spot_img

काठमाडाैँ ।  पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँबायाँ बिजुलीका पोल मुख्य बाधक बनेका छन् । सडकको छेउकुनामा रहेका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले ढिलासुस्ती गर्दा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम बाधा पुगेको हो ।

विशेषगरी नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसेदेखि धार्के बजार क्षेत्र, गल्छी गाउँपालिकाको बन्छेटार, जरेखेत, बेल्खु र गजुरी गाउँपालिकाको घाटबेँसी, पोखरेखोला हुँदै गजुरी बजार आसपासमा विस्तारको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन ।

आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार विद्युत् प्राधिकरणले पोल सार्न ढिला गरिदिँदा काम नै रोक्नुपर्ने अवस्था आएको छ । सडक आयोजनाले काम गर्ने क्रममा कतै पोल गाडिएको ठाउँलाई छाडेर चारैतिर कालोपत्र गरिसकेको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ । कतिपय ठाउँमा पोल गाडिएको चारैतिरको भाग खनेर पोलमात्र अलपत्र पारिएका कारण दुर्घटनाको जोखिमसमेत उच्च भएको छ ।

सडक विस्तारका क्रममा सार्नुपर्ने बिजुलीका पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्नेगरी सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा र नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश प्रादेशिक कार्यालयबीच सम्झौता भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्राधिकरणले पोल सार्न ठेकेदारलाई जिम्मा दिएको र ठेकेदारले काममा ढिलाइ गरेको हो ।

पूर्वी खण्डमा सार्नुपर्ने करिब ५०० पोलमध्ये अब करिब १०० जति पोल सार्न बाँकी छ, तर तिनै पोलका कारण मुख्य खण्डको काम प्रभावित भएको पूर्वी खण्डका इन्जिनियर ओझाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश, प्रादेशिक कार्यालयका इन्जिनियर शेरबहादुर सुनारले भने पोल सार्न ढिलाइ नगरेको र काम भइरहेको दाबी गर्नुभएको छ । “काम भइरहेकै छ, व्यावहारिक कठिनाइ हो । ठेकेदारसँग बुझेर मात्र थप कुरा भन्न सकिन्छ”, उनले भने ।

काम गर्ने निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको ढिलासुस्तीले राष्ट्रिय गौरवको आयोजना त्यसमाथि पनि राजमार्गजस्तो संवेदनशील क्षेत्रमा विकासको काममा अवरोध पुग्नुका साथै यात्रा जोखिम बन्दै गएको छ ।रासस

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img