काठमाडाैँ । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि शेयर निष्काशनकाे तयारी गरेकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीले ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र ३ लाख ५० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिसकेको छ ।
अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सर्वसाधारणले छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेकाे छ ।








