Wednesday, May 6, 2026
spot_img

झरीपछिको पहिरो र त्यसमा भूगर्भविद्को भूमिका

spot_img

Share

spot_img

सारांश(Abstract)

नेपालमा मनसुनजन्य वर्षापछि पहिरो एक प्रमुख प्राकृतिक प्रकोपका रूपमा देखा पर्दछ । यस लेखमा सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदीको दायाँ किनारमा रहेको मेलम्ची घ्याङ पहिरोलाई केस अध्ययनका रूपमा लिई झरीपछिको पहिरोको कारण, भूगर्भीय संरचना तथा नियन्त्रण उपायहरूको विश्लेषण गरिएको छ ।

अध्ययन क्षेत्रमा Garnetiferous Gneiss तथा Quartz vein युक्त Gneiss पाइन्छ, जसमा विकसित discontinuities ले slope instability मा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।अध्ययनले देखाउँछ कि झरीपछिको पहिरो न्यूनीकरणमा भूगर्भविद्को भूमिका, विशेषगरी hazard assessment, kinematic analysis तथा slope stabilization अत्यन्त महत्वपूर्ण हुन्छ ।

परिचय (Introduction)

नेपालको भौगोलिक बनावट, तीव्र ढल्केका भू–आकृति (steep topography), सक्रिय टेक्टोनिक अवस्था तथा मनसुनजन्य वर्षाले गर्दा पहिरो (landslide) एक प्रमुख प्राकृतिक प्रकोपको रूपमा देखा पर्दछ । विशेषगरी मध्यपहाडी तथा हिमाली क्षेत्रमा सडक निर्माण, वन विनाश तथा अव्यवस्थित भू–उपयोगले पहिरोको जोखिमलाई अझ बढाएको छ ।

खासगरी मनसुनको समयमा हुने तीव्र वर्षाले ढलानमा पानीको सन्तृप्ति बढाई shear strength घटाउँछ, जसले ढलान अस्थिर भई पहिरो उत्पन्न हुने सम्भावना बढाउँछ । विशेषगरी संरचनात्मक रूपमा कमजोर चट्टान भएका क्षेत्रमा झरीपछिको पहिरोको जोखिम अझ उच्च देखिन्छ। यस अध्ययनमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रस्थित मेलम्ची घ्याङ पहिरोलाई उदाहरणका रूपमा लिई झरीपछिको पहिरोको प्राविधिक विश्लेषण तथा त्यसमा भूगर्भविद्को भूमिकाको मूल्याङ्कन गरिएको छ ।

यस सन्दर्भमा झरीपछिको पहिरोले स्थानीय भू–संरचनात्मक अवस्था, जलवायु प्रभाव तथा मानवीय हस्तक्षेपबीचको अन्तरसम्बन्धलाई स्पष्ट रूपमा उजागर गर्दछ । यस लेखको मुख्य उद्देश्य यस्तो पहिरोको भूगर्भीय विश्लेषण गर्नु, किनेम्याटिक विश्लेषण (Kinematic Analysis) मार्फत सम्भावित अस्थिरता बुझ्नु तथा यस्ता अवस्थाहरूमा भूगर्भविद्को भूमिकालाई प्रष्ट रूपमा व्याख्या गर्नु हो ।

अध्ययन क्षेत्र र पहिरोको संक्षिप्त विवरण (Study Area and Landslide Overview)

झरी पछिको  क्षेत्र भौगोलिक रूपमा उच्च ढल्केको (steep slope) र संरचनात्मक रूपमा कमजोर चट्टान (weak rock mass) भएको क्षेत्र मानिन्छ । यहाँ पाइने चट्टानहरूमा प्रायः शेल (shale), फिल्लाइट (phyllite) वा अत्यधिक संयुक्त (highly jointed) चट्टानहरू पाइन्छन्, जसले गर्दा ढलान स्थिरता (slope stability) कमजोर हुन्छ ।

अध्ययन क्षेत्रको lithological अवलोकन अनुसार, पहिरोको खुट्टा (toe) क्षेत्रमा मेलम्ची नदीको दायाँ किनारमा bedrock स्पष्ट रूपमा exposed अवस्थामा पाइन्छ । उक्त bedrock मुख्यतः dark grey रंगको, thinly foliated neiss बाट बनेको छ, जसमा quartz veins तथा arnetiferous rock देखिन्छ । यद्यपि, पहिरोको सतहमा लगभग धेरै जस्तो मात्रामा colluvial deposits तथा lithosols ले bedrock लाई आंशिक रूपमा ढाकेको छ, जसले subsurface condition प्रत्यक्ष रूपमा अवलोकन गर्न कठिन भएको थियो ।

फिल्ड प्रमाणले देखाउँछ कि मनसुन समयमा हुने तीव्र वर्षाका कारण water infiltration तथा saturation बढ्दै जाँदा slope को shear strength घटेको छ, जसले translational प्रकारको landslide trigger गरेको छ । विशेषगरी मेलम्ची नदीको दायाँ किनारस्थित घ्याङ पहिरो  क्षेत्रमा यस्तो mass movement स्पष्ट रूपमा अवलोकन गरिएको छ ।

अध्ययन क्षेत्रको भूगर्भीय अवस्था

अध्ययन गरिएको पहिरो सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा मेलम्ची नदीको दायाँ किनारमा अवस्थित छ, जुन नेपालको केन्द्रीय विकास क्षेत्रमा पर्दछ । मेलम्ची खोलाको ढलान (slope gradient) तीव्रदेखि मध्यम तथा सौम्य अवस्थासम्म फैलिएको पाइन्छ । यस क्षेत्रको भू–आकृतिमा तीव्र ढलानहरू, सामान्य gullies तथा अनियमित स्थलाकृतिहरू पाइन्छन्, जसले यस क्षेत्रको जटिल भौगोलिक बनावटलाई प्रतिनिधित्व गर्दछ । नदीले तलतिर बग्दै साँघुरो incised river valley निर्माण गरेको छ, जहाँ कडा चट्टानहरूको exposure तथा lithosols र colluvial soil का तहहरू स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ ।

भूगर्भीय दृष्टिकोणबाट अध्ययन गरिएको पहिरो क्षेत्र मेलम्ची नदीको दायाँ किनारमा अवस्थित उच्च हिमाली क्रिस्टालाइन (Higher Himalayan Crystalline) भू–क्षेत्र अन्तर्गत पर्दछ । यस क्षेत्रमा मुख्य रूपमा quartz vein सहितको Biotite Gneiss चट्टान पाइन्छ । Fine to medium-grained बनावट भएको खैरो तथा हरियो–खैरो रंगको कडा (Gneiss) चट्टान अवलोकन गरिएको छ । पहिरोका कारण सरेको माटो तथा lithosols ले bedrock लाई आंशिक रूपमा ढाकेको अवस्था देखिन्छ । साथै, यस क्षेत्रमा Biotite Gneiss सँगै Garnet पनि अवलोकन गरिएको छ ।

घ्याङ पहिरोको इन्जिनियरिङ भूविज्ञान

अध्ययन गरिएको पहिरो क्षेत्र सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा मेलम्ची नदीको दायाँ किनारमा अवस्थित छ, जुन नेपालको केन्द्रीय विकास क्षेत्रअन्तर्गत पर्दछ । ‘घ्याङ पहिरो’ नामले चिनिने यो पहिरो हाल सतही रूपमा अपेक्षाकृत स्थिर अवस्थामा देखिए पनि यसको संरचनागत अवस्था संवेदनशील रहेको पाइन्छ । फिल्ड अवलोकनका क्रममा पहिरोबाट सरेको ठूलो परिमाणको माटो तथा चट्टानी mass तलतिर सर्दै मेलम्ची नदीको दायाँ किनारमा जम्मा भएको देखियो । त्यस्तै, पहिरोको crown क्षेत्रमा गरिएको अवलोकनले base भागमा bedrock को स्पष्ट exposure रहेको देखाउँछ, जसले मूल चट्टानको अवस्थाबारे महत्वपूर्ण संकेत प्रदान गर्दछ ।

अध्ययन क्षेत्रमा कडा प्रकृतिको खैरो (grey) रंगको Gneiss चट्टान पाइन्छ, जसमा Quartz vein तथा Garnetiferous खनिजहरूको उपस्थिति स्पष्ट रूपमा देखिन्छ । साथै, हरियो–खैरो (greenish grey) रंगको fine देखि medium thickness भएको स्पष्ट foliated gneiss पनि अवलोकन गरिएको छ । यी चट्टानहरूमा विकसित संरचनात्मक विशेषताहरूले slope stability मा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । क्षेत्रको bedrock अत्यन्त तीव्र ढलान (steep slope) मा अवस्थित रहेको छ, जसले गुरुत्वीय बलको प्रभावलाई बढाउने काम गर्दछ ।

पहिरोको crown क्षेत्रमा ठूलो मात्रामा colluvial deposits तथा fractured rock mass पाइन्छ, जुन अघिल्लो mass movement र rockfall का क्रममा जम्मा भएको हो । अवलोकन अनुसार, पहिरोको बायाँ किनारबाट shear band गुज्रिएको देखिन्छ, जसले आन्तरिक संरचनात्मक कमजोरीलाई संकेत गर्दछ । साथै, मनसुनको समयमा slope को माथिल्लो भागको दायाँ किनारमा kholsi (gully) विकसित भई पानी बग्ने गरेको देखिन्छ, जसले सतही क्षय र अस्थिरता थप बढाउने भूमिका खेल्छ ।

साइट अवलोकनले देखाउँछ कि माटो तथा lithosols को सम्पूर्ण mass ढलानअनुसार तलतिर सर्दै मेलम्ची नदीतर्फ गएको छ, जसले पहिले exposed अवस्थामा रहेको bedrock लाई आंशिक रूपमा ढाकेको छ । elevation profile अनुसार, पहिरोको crown क्षेत्र करिब 2432 मिटर उचाइमा रहेको छ भने toe क्षेत्र करिब 2079 मिटर उचाइमा अवस्थित छ, जसले पर्याप्त उचाइ अन्तरका कारण slope मा gravitational force को प्रभाव बलियो रहेको पुष्टि गर्दछ । crown देखि toe सम्मको यो उचाइ अन्तरले mass movement को प्रकृतिलाई स्पष्ट पार्दछ ।

पहिरोको बाहिरी सतह मुख्यतः colluvial deposits ले ढाकिएको छ, जुन crown क्षेत्रबाट भएको translational slide को परिणाम हो । सतहमा fractured तथा अत्यधिक weathered भएको intact rock mass को उपस्थिति देखिन्छ, जसले slope instability लाई अझ प्रबल बनाउँछ ।

मेलम्ची क्षेत्रको बाँया किनारमा उच्च persistence भएका joints हरूको उपस्थिति पनि अवलोकन गरिएको छ, जसले क्षेत्रको संरचनात्मक कमजोरीलाई थप पुष्टि गर्दछ । साथै, crown क्षेत्रबाट खसेका भंगुर चट्टान (broken rock mass), ठूला बोल्डरहरू, वनस्पति तथा माटोले ढाकिएको bedrock पहिरोको toe क्षेत्रमा स्पष्ट रूपमा देखिन्छन्, जसले यस पहिरोको सक्रिय भौगर्भीय प्रक्रियालाई संकेत गर्दछ ।

पहिरोको कारण (Causes of Landslide)

झरी पछिको पहिरोको मुख्य कारण अत्यधिक वर्षाका कारण ढलानको स्थायित्व कमजोर हुनु हो । लगातार वा तीव्र वर्षापछि पानी माटो तथा चट्टानका discontinuities जस्तै joints, fractures तथा bedding planes भित्र प्रवेश गर्छ, जसले pore water pressure बढाउँछ र shear strength घटाउँछ । यसका कारण ढलानको resisting force कमजोर भई गुरुत्वीय बलको प्रभाव बढ्दा mass movement सुरु हुन्छ र पहिरो उत्पन्न हुन्छ । विशेषगरी weathered rock, foliated gneiss, shale तथा phyllite जस्ता कमजोर चट्टान भएका क्षेत्रमा यस्तो समस्या बढी देखिन्छ ।

त्यसैगरी, तीव्र ढलान, वन विनाश, अव्यवस्थित सडक कटिङ तथा drainage प्रणालीको अभावले पनि slope instability बढाउँछ । मनसुनको समयमा सतही पानीको बहावले gullies (kholsi) विकास गराई ढलानलाई थप कमजोर बनाउँछ । नेपालजस्तो tectonically active क्षेत्रमा भूकम्पीय गतिविधिले पनि पहिरो trigger गर्न सक्ने सम्भावना रहन्छ । त्यसैले झरी पछिको पहिरो प्राकृतिक तथा मानवीय दुवै कारकहरूको संयुक्त प्रभावबाट उत्पन्न हुने जटिल भू–प्रक्रिया हो ।

पहिरो नियन्त्रणमा भूगर्भविद्को भूमिका (Role of Geologists)

पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणमा भूगर्भविद्को भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। भूगर्भविद्ले पहिरो सम्भावित क्षेत्रको विस्तृत भूगर्भीय तथा भू–इन्जिनियरिङ अध्ययन गरी ढलान अस्थिरता (slope instability) का मूल कारणहरू पहिचान गर्छन् । चट्टानको प्रकार, discontinuities (जस्तै joints, fractures, bedding planes), ढलानको भौगोलिक अवस्था तथा पानीको प्रभावको विश्लेषणमार्फत पहिरोको सम्भाव्यता मूल्याङ्कन गरिन्छ । विशेषगरी kinematic analysis, geological mapping तथा hazard zonation जस्ता विधिहरू प्रयोग गरी उच्च जोखिमयुक्त क्षेत्रहरू स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ ।

त्यसैगरी, पूर्वाधार निर्माण अघि भूगर्भविद्ले slope stability analysis गरी सुरक्षित स्थान छनोट गर्न महत्वपूर्ण सहयोग पुर्‍याउँछन् । पहिरो प्रभावित क्षेत्रमा drainage management, retaining structures, rock bolting, shotcrete तथा bio-engineering जस्ता स्थिरीकरण (stabilization) उपायहरूको सिफारिस पनि उनीहरूले नै गर्छन् । साथै, geophysical investigation मार्फत bedrock को अवस्था, discontinuities तथा subsurface condition को अध्ययन गरी निर्माण कार्यलाई अझ सुरक्षित र भरपर्दो बनाइन्छ ।

मनसुनपछिको अवस्थामा पहिरो पुनः सक्रिय हुने सम्भावना रहने भएकाले भूगर्भविद्ले नियमित monitoring, risk assessment तथा early warning प्रणाली विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसैले, दिगो पूर्वाधार विकास तथा प्राकृतिक प्रकोप न्यूनीकरणका लागि भूगर्भविद्को सक्रिय संलग्नता अपरिहार्य मानिन्छ ।

पहिरो न्यूनीकरणका उपायहरू

पहिरो न्यूनीकरणका लागि भूगर्भीय, इन्जिनियरिङ तथा जैविक उपायहरूको समन्वित प्रयोग अत्यावश्यक हुन्छ । पहिरोका मुख्य कारणहरूमा ढलान अस्थिरता, अत्यधिक वर्षा, कमजोर चट्टान संरचना तथा अव्यवस्थित मानवीय क्रियाकलापहरू पर्दछन्। त्यसैले न्यूनीकरणका उपायहरू slope stabilization मा केन्द्रित हुनुपर्छ ।

पहिरो नियन्त्रणका प्रभावकारी उपायहरूमध्ये drainage management प्रमुख हो । सतही तथा भूमिगत पानीको उचित निकास व्यवस्थापनले pore water pressure घटाउँछ, जसका कारण ढलानको स्थायित्व (slope stability) वृद्धि हुन्छ । त्यसैगरी, retaining wall, gabion wall तथा breast wall जस्ता संरचनाहरू निर्माण गरी ढलानलाई आवश्यक समर्थन प्रदान गर्न सकिन्छ ।

चट्टानी ढलान भएका क्षेत्रमा rock bolting, anchoring तथा shotcrete जस्ता प्रविधिहरू प्रयोग गरी fractured rock mass लाई स्थिर बनाउन सकिन्छ । साथै, वनस्पति संरक्षण तथा bio-engineering प्रविधि पनि पहिरो नियन्त्रणमा अत्यन्त प्रभावकारी मानिन्छ । घाँस, झाडी तथा रुखबिरुवा रोप्दा तिनका जरा प्रणालीले माटोलाई बाँधेर राख्ने भएकाले erosion तथा surface runoff कम हुन्छ ।

सडक निर्माण वा excavation का क्रममा uncontrolled slope cutting नगरी उपयुक्त slope angle कायम गर्नु अत्यन्त आवश्यक हुन्छ ।

यसका अतिरिक्त, पहिरो सम्भावित क्षेत्रमा geological mapping, kinematic analysis तथा geophysical investigation मार्फत जोखिम मूल्याङ्कन गर्नुपर्छ । जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार तथा अव्यवस्थित निर्माण कार्य नियन्त्रण गर्नुका साथै जनचेतना अभिवृद्धि र नियमित monitoring लाई प्राथमिकता दिनु आवश्यक छ । यसरी वैज्ञानिक तथा इन्जिनियरिङ उपायहरूको समन्वित प्रयोगबाट पहिरो जोखिम प्रभावकारी रूपमा न्यूनीकरण गर्न सकिन्छ ।

छलफल तथा निष्कर्ष (Discussion and Conclusion

घ्याङ पहिरो सम्बन्धी गरिएको विस्तृत भूगर्भीय तथा इन्जिनियरिङ–भूगर्भीय अध्ययन अनुसार, पहिरोको toe क्षेत्रमा मेलम्ची नदीको दायाँ किनारमा bedrock को स्पष्ट exposure देखिन्छ । उक्त पहिरो उच्च हिमाली क्रिस्टालाइन भू–क्षेत्र अन्तर्गत पर्दछ, जसको पुष्टि quartzite सहितको garnetiferous gneiss चट्टानको उपस्थितिले गर्दछ ।

अध्ययन क्षेत्रको सतहमा bedrock माथि वनस्पति, colluvial deposit तथा lithosols ले आंशिक रूपमा आवरण गरेको पाइन्छ । यसका विपरीत, मेलम्ची नदीको बाँया किनारमा उच्च persistence भएका joints सहितको तीव्र ढलानयुक्त bedrock अवलोकन गरिएको छ ।

इन्जिनियरिङ–भूगर्भीय विश्लेषणका आधारमा यस पहिरोलाई Varnes (1978) को mass movement classification अनुसार translational slide को रूपमा वर्गीकरण गर्न सकिन्छ । translational slide भन्नाले माटो वा lithosols को mass कुनै planar सतह—जस्तै bedding plane, joint वा fault surface—अनुसार तलतिर सर्ने प्रकारको पहिरोलाई जनाउँछ । यस्तो प्रकारको पहिरो प्रायः तीव्र वर्षा, भूकम्पीय गतिविधि वा ढलानलाई अस्थिर बनाउने मानवीय हस्तक्षेपका कारण सक्रिय हुन्छ ।

झरीपछिको पहिरो विश्लेषणले देखाउँछ कि केवल प्राकृतिक कारणहरू मात्र नभई मानवीय हस्तक्षेप पनि प्रमुख कारक हो । प्रारम्भिक चरणमै भूगर्भीय अध्ययन तथा kinematic analysis गरिएमा मात्र जोखिम प्रभावकारी रूपमा न्यूनीकरण गर्न सकिन्छ ।

निष्कर्ष (Conclusion)

झरीपछिको पहिरो नेपालमा देखिने सामान्य तर गम्भीर भू–प्रकोपको प्रतिनिधि उदाहरण हो । यसको प्रमुख कारणहरूमा कमजोर भूगर्भीय संरचना, तीव्र वर्षा तथा अव्यवस्थित विकास गतिविधिहरू पर्दछन् ।

पहिरो रोकथाम तथा जोखिम न्यूनीकरणका लागि भूगर्भविद्द्वारा गरिने kinematic analysis अत्यन्त महत्वपूर्ण हुन्छ, जसले slope failure को सम्भावना पहिचान गर्न मद्दत गर्दछ । त्यसैले पूर्वाधार विकासका प्रत्येक चरणमा भूगर्भविद्को सक्रिय संलग्नता अनिवार्य छ । यसले मात्र दीर्घकालीन रूपमा सुरक्षित, दिगो र जोखिम-सचेत विकास सुनिश्चित गर्न सक्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img