काठमाडाैँ । निको इनर्जी लिमिटेडले निर्माण प्रक्रिया अघि बढाएको ९ मेगावाटको माथिल्लाे भुरुण्डी खोलाको इलेक्ट्रो मेकानिकलको काम गेपर्ट हाइड्रोले गर्ने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी र गेपर्ट हाइड्रोबीच सम्झौता सम्पन्न भएको छ ।
आयोजनाका लागि आवश्यक सम्पूर्ण इलेक्ट्रो–मेकानिकल उपकरणको जिम्मेवारीसहित प्रवर्द्धक कम्पनीसँग ठेक्का सम्झौता सम्पन्न भएको गेपर्टका देशीय निर्देशक राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार गेपर्ट हाइड्रोले आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन र आपूर्ति तथा जडान कार्य गर्नेछ ।
सम्झौतासँगै आयोजनाको निर्माण चरण थप व्यवस्थित र गतिशील बन्ने अपेक्षा गरिएको छ । परियोजनामा उच्चस्तरीय इन्जिनियरिङ, गुणस्तरीय कार्यान्वयन, समयमै सम्पन्न गर्ने प्रतिबद्धता तथा दीर्घकालीन मूल्य सिर्जनामा जोड दिइने जनाइएको छ ।
यस सहकार्यलाई दुवै पक्षबीचको विश्वास, प्राविधिक दक्षता र दीगो ऊर्जा विकासप्रतिको साझा दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ ।
यस सहकार्यले नेपालमा भरपर्दो, प्रभावकारी र दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास गरिएको छ । साथै, बढ्दो ऊर्जा माग व्यवस्थापन, ऊर्जा सुरक्षा सुदृढीकरण र समग्र आर्थिक विकासमा समेत यस आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


![bhurundi and geppert]](https://urjasanchar.com/wp-content/uploads/2026/05/bhurundi-and-geppert-696x360.jpg)





