काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणकाे निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठलाई प्रदान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन् ।
यसअघि श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेकाे ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमाेजिम प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएपछि नयाँ नेतृत्वको व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
यस निर्णयसँगै प्राधिकरणको नेतृत्व अस्थायी रूपमा नयाँ व्यवस्थापनतर्फ गएको छ । हाल प्राधिकरणको व्यवस्थापन, सेवा प्रवाह तथा चालु आयोजनाहरूलाई निरन्तरता दिनका लागि यो अन्तरिम व्यवस्था गरिएको हो । विशेषगरी वितरण प्रणाली सुधार, लाइन विस्तार तथा ग्राहक सेवा प्रभावकारी बनाउने कामलाई प्राथमिकतामा राखिने जनाइएको छ ।
ऊर्जा क्षेत्रका सरोकारवालाहरूले भने नयाँ नेतृत्वले विद्युत् आपूर्ति व्यवस्थापन, प्रसारण क्षमता विस्तार तथा वित्तीय अनुशासनमा सुधार ल्याउने अपेक्षा व्यक्त गरेका छन् । साथै, आगामी दिनमा लोड व्यवस्थापन, नवीकरणीय ऊर्जा समावेशीकरण तथा ग्राहक सेवा सुधारमा ठोस प्रगति हुने विश्वास लिइएको छ ।








