राजेन्द्र तिमल्सिना
भनिन्छ, निष्ठापूर्वक गरिएको कामले सधैं उत्कृष्ट फल दिन्छ । नेपालका इन्जिनियरहरूले पनि विश्वस्तरमा योगदान दिन सक्ने क्षमता राख्छन् भन्ने कुरा अब केवल भनाइ मात्र होइन, वास्तविकता हो । हाम्रै देशमा रहेका इन्जिनियरहरूले आफ्नो सीप र मेहनतद्वारा जटिल परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरेका छन् । यसले के देखाउँछ भने इन्जिनियरहरूमा समाज, राष्ट्र र विश्वलाई नै परिवर्तन गर्ने शक्ति हुन्छ ।
कडा मेहनत, धैर्य, सत्यता, दक्षता र सकारात्मक दृष्टिकोण रहेका अमित पोखरेलले सिभिल इन्जिनियरबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मको यात्रा तय गरेका छन् । देशभित्र र देशबाहिर आफ्नो सीप र शिक्षाका माध्यमबाट ज्ञानको ज्योति फैलाउँदै राष्ट्रको विकासमा योगदान पुर्याउने पोखरेल एक प्रेरणादायी सिभिल इन्जिनियर हुन् ।
पेसागत रूपमा पोखरेल सिभिल इन्जिनियर तथा सहरी डिजाइनर र संरक्षणविद् हुन् । उनले सिभिल इन्जिनियरिङ्गमा स्नातक र सहरी डिजाइन तथा संरक्षणमा स्नातकोत्तरको अध्ययन पूर्वाञ्चल विश्वविद्यालयबाट पूरा गरेका थिए । उनको प्रतिभा, क्षमताको पहिचान र निरन्तर मेहनतकै कारण पोखरेल प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका छन् । यो यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाल र विश्वभरिका नेपाली इन्जिनियरहरूको क्षमता र योगदानलाई ऊजागर गर्ने प्रेरणादायी कडी पनि हो ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने असाधारण प्रतिभा र इन्जिनियरिङ्ग दक्षता उनको पहिचान बनेको छ । उनले नेपालमै बसेर ‘इन्जिनियर्स अष्ट्रेलिया’ द्वारा सन् २०२५ को ’प्रोफेशनल इन्जिनियर अफ द इयर’ को मनोनयन प्राप्त गरेका थिए, जसले नेपाली प्रतिभालाई विश्वव्यापी प्लेटफर्ममा स्थापित गरेको छ । साथै, उनले ग्लोबल इन्फ्रास्ट्रक्चर बेसल फाउन्डेसन, स्विट्जरल्यान्डअन्तर्गतको ‘फास्ट इन्फ्रा लेबल’ मा कार्यकारी सल्लाहकार समिति सदस्यको रूपमा काम गर्दै ऊर्जा र पूर्वाधार परियोजनाहरूको मूल्याङ्कनमा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गरेका छन् । स्विट्जरल्याण्डको बासेल सहरमा आधारित यो एउटा यस्तो स्वतन्त्र संस्था हो, जसले पूर्वाधार विकासलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने काम गर्छ ।
उनको करियर धैर्य र सत्यताको प्रत्यक्ष प्रमाण हो । आफ्नो करियरको यात्रा सडक निर्माणको कामबाट सुरु गर्दै उनले क्रमशः करार व्यवस्थापन, करार इन्जिनियर र परियोजना इन्जिनियरको जिम्मेवारी सम्हाल्दै अनुभव सङ्कलन गरे । प्रारम्भिक चरणमै उनले विविध काम गरेर आफ्नो दक्षता विस्तार गरे । त्यसपछि मेलम्ची डाइभर्सन खानेपानी आयोजनामा इटालियन ठेकेदार कम्पनी ‘सीएमसी दी राभेन्ना’ का लागि योजना इन्जिनियरको रूपमा कार्यभार सम्हाल्दै उनले कामलाई गति दिए र निरन्तर प्रगति गरे ।
उनले नेपाल सरकारको गरिबी निवारण कोषअन्तर्गत ५८ वटा पूर्वाधार परियोजनाहरू सफलतापूर्वक सम्पन्न गरे, जसमा खानेपानी तथा सरसफाइ, सिँचाइ, माइक्रो–हाइड्रो र विद्यालयका संरचनाहरू समावेश छन् । उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) मा ‘एन्ड्रिट्ज हाइड्रो जीएमबिएच’ का लागि करार प्रबन्धकको रूपमा काम गर्दै जटिल इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल कामहरूको नेतृत्व गरेका थिए ।
साथै, उनले म्याग्दी खोला जलविद्युत् आयोजना (५७.३ मेगावाट) र कुनाबन खोला जलविद्युत् आयोजना (२० मेगावाट) मा परियोजना व्यवस्थापन परामर्शदाता, निलगिरी खोला जलविद्युत् आयोजना (१११.७ मेगावाट) मा आयोजना प्रमुख र ऊर्जा डेभलपर्सको १३९.२ मेगावाटका पाँचवटा आयोजनामा परामर्शदाताका रूपमा योगदान दिएका थिए ।
उनको पोर्टफोलियो अझ व्यापक र प्रेरणादायी बन्यो । उनी गोल्यान समूहमा व्यावसायिक तथा करार प्रबन्धकको रूपमा ऊर्जा विभागका लागि चयन भई ऊर्जा विभागमा मात्र नभएर निर्माण तथा रियल इस्टेट विभागमा पनि योगदान दिए । उनले ‘फेडेरेसन इन्टरनेशनल देस इन्जिनियर–कन्सल्टेन्ट्स’ लगायत अन्य अन्तर्राष्ट्रिय करारका ढाँचा, नेपाली करारको ढाँचा, लागत अनुमान, दर विश्लेषण, करार हस्ताक्षर र कार्यवाहक परियोजना व्यवस्थापकको रूपमा समेत आफ्नो पूर्ण योगदान दिए । उनले सिभिल, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र ट्रान्समिसन लाइनका करार तथा बोलपत्र तयार गर्नुका साथै गोल्यान समूहमा ‘नेक्सस इन्जिनियरिङ परामर्श तथा निर्माण प्रा. लि.’ का अधिकृत हस्ताक्षरकर्ताको रूपमा पनि आफ्नो कामलाई उच्च स्तरमा प्रस्तुत गरे ।
त्यहाँ काम गर्दै उनले माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना (क्षमता ३०६ मेगावाट), नाम्लान खोला जलविद्युत् आयोजना (क्षमता १३५ मेगावाट), तल्लो अप्सुवा जलविद्युत् आयोजना (क्षमता ५४ मेगावाट) र माथिल्लो बलेफी जलविद्युत् आयोजना (क्षमता ४६ मेगावाट) लगायतका परियोजनाहरूको नेतृत्व गरेका थिए । साथै, उनले प्योर इनर्जी सौर्य पीभी प्लान्ट (२० मेगावाट), राप्ती ऊर्जा सौर्य पीभी आयोजना (५० मेगावाट) र सोल पावरअन्तर्गतका पाँच परियोजना (१०० मेगावाट) जस्ता सौर्य आयोजनाहरूमा पनि योगदान दिएका थिए । होटल तथा व्यावसायिक पूर्वाधारतर्फ पनि उनले हायात सेन्ट्रिक सिटी होटल लिमिटेड, वेदा हस्पिटालिटी र गोल्यान टावरका लागि जटिल ठेक्का र बोलपत्र व्यवस्थापन गरेका थिए । तल्लो अप्सुवा जलविद्युत् आयोजना र माथिल्लो बलेफी जलविद्युत् आयोजनाको परियोजना लागत उनले आफैँले तयार गरेका थिए ।
गोल्यान समूहपछि ऊर्जा डेभलपर्समा उनको नेतृत्व अझ प्रखर र प्रेरणादायी बन्यो । उनले तिला २ जलविद्युत् आयोजना (४२० मेगावाट) र म्याग्दी क्लस्टर आयोजना (६५ मेगावाट र ५३.५ मेगावाट) मा योगदान दिएका थिए । यसका साथै उनले सौर्य ऊर्जा विकासमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । सडक निर्माणदेखि दाबी व्यवस्थापन, नदी फर्काउने कामदेखि जटिल पूर्वाधार परियोजनासम्म र नबिल बैंकका लागि ऊर्जा तथा पूर्वाधार परामर्शदातासम्मको उनको अनुभवले उनको बहुमुखी प्रतिभा र प्राविधिक गहिराइलाई प्रमाणित गर्छ ।
राष्ट्रिय परियोजनादेखि विश्वव्यापी मान्यतासम्म, उनका उपलब्धिहरूले नेपाललाई गौरवान्वित बनाएका छन् । उनले ’यूबी ग्रुप एसिया’ द्वारा प्रदान गरिने ’ग्लोबल गेम चेन्जर्स पुरस्कार २०२४’ प्राप्त गरेका थिए । इन्जिनियर्स अष्ट्रेलियाबाट प्राप्त मान्यता र फास्ट इन्फ्रा लेबल ग्लोबल फ्रेमवर्कमा उनको भूमिकाले उनको इन्जिनियरिङ्ग उत्कृष्टता र नेतृत्वलाई विश्वव्यापी रूपमा स्थापित गर्छ । प्रमुख कार्यकारी अधिकृतको रूपमा उनको नेतृत्वले नयाँ अध्यायमा प्रवेश गरेको छ । परामर्शदाता कम्पनीले नेपाल र अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, नवप्रवर्तन र दिगोपनामा आधारित परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।
उक्त सेवाहरूमाः अवधारणा पहिचान, योजना र तयारी; प्रारम्भिक अनुसन्धान र अध्ययन; सम्भाव्यता अध्ययन, मोडेलिङ्ग, डिजाइन, तयारी र अद्यावधिक; लागत अनुमान, ठेक्का÷बोलपत्र कागजात र बोलपत्र मूल्याङ्कन; ठेक्का प्रशासन, सुपरभिजन, निर्माण व्यवस्थापन र परियोजना व्यवस्थापन; निर्माण अडिट, कमिसनिङ्ग, अनुगमन र व्यवस्थापन; अनुसन्धान, सर्वेक्षण र सल्लाहकार सेवाहरू (हवाई तथा स्थलाकृतिक सर्वेक्षण, माटो र भूमि स्रोत सर्वेक्षण, भूगर्भीय तथा भूभौतिकीय सर्वेक्षण, भू–प्राविधिक अनुसन्धान, सडक सतह सर्वेक्षण, निर्माण सामग्री सर्वेक्षण, जलविज्ञान÷हाइड्रोमेट्रिकल सर्वेक्षण, भूजल अनुसन्धान, आधाररेखा सर्वेक्षण, प्रभाव मूल्याङ्कन सर्वेक्षण, वातावरणीय मूल्याङ्कन र डिजाइन); विशेषज्ञ राय, मूल्याङ्कन, यथोचित परिश्रम विश्लेषण (म्गभ म्ष्ष्निभलअभ) अध्ययन र विश्लेषण; नीति तथा नियामक सल्लाह, व्यावसायिक व्यवस्थापन र औद्योगिक योजना आदि पर्दछन् ।
नेपालदेखि विश्वसम्म, उनको नेतृत्वले ग्राहक, सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूमा विश्वास जगाएको छ । उनको बलियो सार्वजनिक सम्बन्ध र कूटनीतिक दृष्टिकोणले नेपालमा व्यवसायलाई दिगो बनाउन र विश्वव्यापी पहुँच विस्तार गर्न मद्दत गर्नेछ ।
उनको नियुक्ति व्यक्तिगत सफलता मात्र नभएर एउटा प्रेरणाको स्रोत हो । नेपालले विश्व समुदायलाई दिएको सन्देश स्पष्ट छ—हामी नेपालीहरू पनि आफ्नै देश, समाज र भविष्य निर्माण गर्न सक्षम छौँ । हामी समान स्तरमा उभिएका छौँ भन्ने प्रमाण हाम्रा जलविद्युत्, सौर्य ऊर्जा र अन्य पूर्वाधार परियोजनाहरूमा देखिएको छ । निरन्तर प्रयास, निष्ठा र दृढतापूर्वक काम गर्दा कुनै पनि लक्ष्य असम्भव हुँदैन भन्ने कुरा हामीले प्रमाणित गरेका छौँ ।
देश र समाजप्रति उत्तरदायी भएर, सही तरिकाले र दृढ सङ्कल्पसहित काम गर्दा समय र ब्रह्माण्डले पनि हाम्रो यात्रामा साथ दिन्छ भन्ने उदाहरण यही हो । दिगो विकासका लक्ष्यहरूलाई आधारस्तम्भ बनाएर काम गर्ने हाम्रो पेसागत समुदायले देखाएको योगदानले नेपाली परामर्श विशेषज्ञतालाई विश्वस्तरमा प्राविधिक रूपमा सुदृढ, आर्थिक रूपमा व्यावहारिक र सामाजिक रूपमा प्रभावकारी परियोजनाहरू प्रदान गर्न सक्षम बनाएको छ ।
अमित पोखरेल हाल प्रमुख कार्यकारी अधिकृतको रूपमा ‘सिम्यात कन्सल्टेन्ट्स इन्जिनियरिङ फर्म’, हात्तीसार, काठमाडौँमा कार्यरत छन् । पोखरेल चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । पोखरेल जुनसुकै काम निष्ठापूर्वक गर्ने र आफ्ना ग्राहकहरूको हितलाई सधैं प्राथमिकतामा राख्छन् । एक विश्वासिलो सल्लाहकारको रूपमा उनले ग्राहकहरूको कामको सुरक्षा र सफलताका लागि निरन्तर योगदान दिएका छन् ।
ग्राहक, परामर्शदाता र ठेकेदार गरी सबै पक्षसँग काम गरिसकेको अनुभवले उनलाई बहुआयामिक दृष्टिकोण प्रदान गरेको छ । उनको भनाइअनुसार, ‘हामीले सधैं पहिलो पक्ष अर्थात् आफ्ना ग्राहकको चाहनाअनुसारको दायरा र उद्देश्य पूरा गर्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।’ समयमै काम सम्पन्न गर्ने उनको प्रतिबद्धता र व्यावहारिक नेतृत्वले नै आज उनलाई यस स्तरमा पुर्यएको छ ।
सही तरिकाले टिमलाई साथमा लिएर, उनीहरूको विचार बुझ्न सक्ने प्रेरणादायी गुणका कारण पोखरेल आज प्रमुख कार्यकारी अधिकृतको पदमा पुग्न सफल भएका छन् । उनले सधैं आफ्ना सहकर्मीहरूलाई समर्थन र आफूभन्दा कनिष्ठ वा नयाँ पुस्तालाई अघि बढाउने वातावरण सिर्जना गर्छन् ।
उनको भनाइअनुसार, ‘कसैलाई सानो वा ठूलो भन्नु हुँदैन, सबै समान हुन्छन् । यदि हामीले उनीहरूको सीप र ज्ञानको सही मूल्याङ्कन गर्न सक्यौँ भने, उनीहरू पनि नेतृत्वको उच्च स्थानमा पुग्न सक्छन् ।’
टिमलाई बढ्न सक्ने वातावरण दिन सक्यौँ भने मात्र समाजको सही विकास सम्भव हुने उनको बुझाइ छ । एकअर्कालाई अड्काएर, आरोप–प्रत्यारोप गरेर वा दोषारोपण गरेर होइन, एकअर्काको प्रगतिलाई आत्मसात् गरेर मात्र देश निर्माण गर्न सकिन्छ भन्ने उनको विचारले नेतृत्वको गहिरो दर्शन प्रस्तुत गर्दछ ।
असाधारण प्रतिभा, इन्जिनियरिङ्ग दक्षता र अन्तर्राष्ट्रिय सल्लाहकार क्षमताले नेपालको विकासमा नयाँ आयाम थप्दै अर्थपूर्ण योगदान दिनुका साथै अवसरहरूको नयाँ ढोका खोलिदिएको छ । यो उपलब्धि व्यक्तिगत मात्र नभई सम्पूर्ण नेपाली पेसागत समुदायको सामूहिक गौरव हो। यसले विश्वसामु स्पष्ट सन्देश दिन्छ—हामी सक्षम छौँ, दृढ छौँ र समान स्तरमा उभिन सक्ने शक्ति राख्छौँ ।
नेपालका इन्जिनियरहरूले कडा मेहनत, धैर्य र नेतृत्वमार्फत नेपालमा मात्र होइन, विश्वभर आफ्नो पहिचान बनाउन सक्नेछन् । यो लेख केवल प्रेरणादायी आवाज मात्र होइन, भविष्यका युवाहरूका लागि मार्गदर्शक प्रकाश हो; नेपालका इन्जिनियरहरू विश्व स्तरमा उत्कृष्टता देखाउन सक्षम छन् भन्ने प्रमाण हो ।
यस उपलब्धिले नेपाली युवाहरूमा आत्मविश्वास जगाउँछ कि उनीहरूले पनि आफ्नो सीप, निष्ठा र प्रतिबद्धता प्रयोग गरेर विश्वसामु आफ्नो पहिचान बनाउन सक्छन् । नेपालका इन्जिनियरहरूको योगदानले राष्ट्रलाई मात्र होइन, सम्पूर्ण मानव समाजलाई प्रगतिको बाटोमा अघि बढाउने प्रेरणा दिन्छ ।








