काठमाडाैँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्ने अभियानलाई शुक्रबार पनि निरन्तरता दिएको छ ।
कार्यालयले बिहीबार ५० वटा उद्योगको विद्युत् लाइन विच्छेद गरेपछि शुक्रबार बिहान ६ बजेदेखि बाँकी बक्यौता रहेका उद्योगहरूको लाइन काट्ने कार्य जारी राखेको हो ।
कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार बक्यौता असुली अभियानअन्तर्गत विद्युत् लाइन काट्ने र बक्यौता रकम बुझाएका उद्योगको लाइन पुनः जडान गर्ने कार्य सँगसँगै भइरहेको छ । उनले बिहीबार मात्रै १२ वटा उद्योगले बक्यौता रकम भुक्तानी गरेपछि उनीहरूको विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिए ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित साना तथा ठूला उद्योगमध्ये १३१ वटा उद्योगले विभिन्न शीर्षकमा बक्यौता तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । पटक–पटक ताकेता गर्दा पनि बक्यौता नबुझाएपछि विद्युत् लाइन काट्ने निर्णय कार्यान्वयनमा ल्याइएको कार्यालयको भनाइ छ ।
सूचना अधिकारी भण्डारीले बक्यौता नतिर्ने सबै उद्योगलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्दै सम्बन्धित उद्योगीलाई तत्काल बक्यौता रकम बुझाउन आग्रह गरे । उनका अनुसार बक्यौता भुक्तानी गर्ने उद्योगहरूको विद्युत् लाइन भने तत्काल पुनः जडान गरिने व्यवस्था गरिएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुलीलाई प्रभावकारी बनाउन अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ। कार्यालयले बक्यौता रहेका उद्योगहरूको विवरण अद्यावधिक गर्दै असुली प्रक्रिया थप सशक्त बनाइने उल्लेख गरेको छ ।








