काठमाडाैँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक) क्षेत्रमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा रोकिएको आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीले बाँधमा क्षति पुर्याउनुका साथै आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । उनका अनुसार सडक अवरुद्ध हुँदा क्षतिको निरीक्षण, मर्मत तथा आवश्यक उपकरण ढुवानीमा समेत समस्या उत्पन्न भएको छ ।
“बाँधमा क्षति पुगेको छ भने पहुँचमार्ग अवरुद्ध हुँदा मर्मत तथा निरीक्षण कार्यसमेत प्रभावित भएको छ,” काफ्लेले भने ।
विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएपछि आयोजनाले आर्थिक क्षतिसमेत व्यहोर्नुपरेको जनाएको छ । हाल क्षतिको विस्तृत विवरण संकलन तथा मर्मत कार्यको तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।
गत वर्ष निर्माण सम्पन्न भएको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बाढीका कारण उत्पादन बन्द भएपछि आयोजनाबाट हुने विद्युत् आपूर्ति अस्थायी रूपमा प्रभावित भएको छ ।








