Tuesday, August 25, 2026
spot_img

राहुघाटमा अन्तिम परीक्षण, अब राष्ट्रिय प्रसारण प्रणालीमा ४० मेगावाट थपिने

spot_img

Share

spot_img

काठमाडाैँ । लामो समयदेखि निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत् उत्पादनपूर्वको अन्तिम परीक्षणमा प्रवेश गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको दोस्रो युनिटको परीक्षणसमेत सुरु गरिएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाका बाँध, डिसेन्डर, मुख्य सुरुङ र स्विचयार्डको परीक्षण सम्पन्न भइसकेको छ । आयोजनामा जडान गरिएका दुईमध्ये २० मेगावाट क्षमताको पहिलो युनिटको परीक्षण पूरा भइसकेको छ भने दोस्रो २० मेगावाट युनिटको परीक्षण आइतबारदेखि सुरु भएको हो ।

दोस्रो युनिटको परीक्षण पूरा गर्न करिब एक सातादेखि १० दिनसम्म लाग्ने अनुमान गरिएको छ । परीक्षण सफल भएपछि आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने र त्यसको करिब १५ दिनपछि व्यावसायिक उत्पादनमा जाने तयारी गरिएको केसीले बताए ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा आयोजनाको बाँध निर्माण गरिएको छ । आयोजनाको ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षणसमेत सम्पन्न भइसकेको छ । तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा आवश्यक उपकरण जडान पूरा भई परीक्षण भइरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ । राहुघाटको विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’ प्रविधिबाट जोडिनेछ । यसका लागि आवश्यक चारवटा टावर तथा प्रसारण लाइन निर्माणको काम पनि पूरा भइसकेको छ ।

राहुघाट आयोजना निर्माणका लागि सिभिलतर्फ भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिर ६ गते करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण निर्माण अवधि लम्बिएको थियो ।

त्यस्तै, इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडसँग २०७६ कात्तिकमा १० करोड २९ लाख ३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो ।

राहुघाटको निर्माण यात्रा भने निकै लामो छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा तत्कालीन ठेकेदार भारतीय कम्पनी आइभिआरसिएलसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आइभिआरसिएलसँग २०६६ सालमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि २०७५ चैतमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई सरकारी लगानीमा जिल्लामा सुरु भएको पहिलो जलविद्युत् आयोजनाका रूपमा म्याग्दीको जलविद्युत् विकासको प्रवेशविन्दुका रूपमा लिइएको बताए । उनका अनुसार राहुघाट आयोजना सुरु भएपछि जिल्लामा आएका अन्य १० वटा आयोजना सम्पन्न भइसकेका छन् ।

लामो प्रतीक्षापछि राहुघाट अन्तिम परीक्षणको चरणमा पुगेसँगै म्याग्दीको राष्ट्रिय प्रसारण प्रणालीमा थप ४० मेगावाट विद्युत् जोडिने भएको छ । दशकौँदेखि निर्माणको प्रतीक्षामा रहेको आयोजनाबाट अब परीक्षण उत्पादन हुँदै व्यावसायिक उत्पादनतर्फ जाने बाटो खुलेको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img