काठमाडाैँ । आइएमई समूहले अघि बढाएको ६६.३ मेगावाट क्षमताको मध्य–कालीगण्डकी जलविद्युत् आयाेजनाका लागि लगानी सुनिश्चित भएको छ । परियोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
आयाेजनामा नबिल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक, हाइड्राे तथा इलेक्ट्रिसीटी एण्ड इन्भेष्टमेन्ट बैंक (एचआइडिसिएल)ले लगानी गर्ने भएका हुन् । समूहको हाइड्रो सपोर्ट प्रालि र नबिल बैंकले ऋण लगानी सम्झौता गरेका छन् । सम्झौतापत्रमा हाइड्रो सपोर्टका तर्फबाट आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकहरूको तर्फबाट लिड गरिरहेको बैंक नबिलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।
सम्झाैताअनुसार नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले २/२ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको एक–एक अर्ब रुपैयाँ लगानी रहनेछ । यसैगरी, एचआइडिसिएलले थप एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएकाे छ ।
बाँकी कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्ने भएको छ । जुन इक्विटीमा आइएमई समूह र सर्वसाधारणको लगानी रहनेछ । आगामी अक्टोबरदेखि परियोजना निर्माण सुरु गरेर आगामी ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । हाल परियोजनाको निर्माणपूर्वका काम भइरहेका छन् ।