काठमाडाैँ । नेपालको ऊर्जा क्षेत्रको विकास, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना हुने एक्स्पो पाँचौँ संस्करण हो ।
नेपालमा विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको र सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य रहेकाले उत्पादन विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, विद्युत् खपत, अन्तरदेशीय विद्युत् व्यापार र जलवायु–उत्थानशील ऊर्जा पूर्वाधार विकासलाई एक्स्पोले प्राथमिकतामा राख्नेकाे इप्पानका अध्यक्ष माेहनकुमार डांगीले बताए । उनका अनुसार जलविद्युत्सँगै सौर्य, वायु, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, एआई तथा जलवायु प्रविधिसहितको एकीकृत हरित ऊर्जा बजार निर्माणमा समेत जोड दिइने छ ।
एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, सरकारी निकाय, अनुसन्धान संस्था तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता रहनेछ । बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, प्रविधि प्रदर्शन, स्टार्टअप हब, आयोजना स्थल भ्रमण, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनरलगायतका कार्यक्रम आयोजना गरिनेछन् ।
भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनीलगायत विभिन्न देशका कम्पनी तथा सरोकारवालालाई सहभागी गराउने तयारी गरिएको छ । एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ ।
इप्पानद्वारा जारी विज्ञप्ति
नेपालको ऊर्जा क्षेत्र अहिले महत्वपूर्ण रूपान्तरणको चरणमा प्रवेश गरेको छ । देशको विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको छ भने सन् २०३५ सम्म ३०,००० मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य छ । यो लक्ष्य केवल घरेलु विद्युत् माग पूरा गर्नमा सीमित नभई औद्योगिक विकास, विद्युतीय सवारी, नवीकरणीय ऊर्जा तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारसँग जोडिएको छ । ऊर्जा क्षेत्रमा भइरहेको तीव्र विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिम पनि बढिरहेको छ ।
पछिल्ला वर्षहरूमा आएको आकस्मिक बाढी, पहिरो तथा गेग्रान बहावले विभिन्न जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पु¥याएका छन् ।यसले ऊर्जा उत्पादन क्षमता बढाउनुका साथै जलवायु परिवर्तनका प्रभाव सामना गर्न सक्ने सुरक्षित र उत्थानशील ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखाएको छ । नेपालको ऊर्जा क्षेत्र अब जलविद्युत् उत्पादनमा मात्र सीमित नरही सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स तथा जलवायु प्रविधिसहितको एकीकृत स्वच्छ ऊर्जा प्रणालीतर्फ अघि बढिरहेको छ ।
नेपालमा निजी क्षेत्रको ऊर्जा उत्पादन र लगानीलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले २०५७ माघ ४ (जनवरी १७, २००१) मा स्थापना भएको नेपालको निजी लगानीकर्ताहरुको प्रमुख छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले स्थापनाकालदेखि नै ऊर्जा उत्पादनको विस्तार, लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार तथा सरकार र निजी क्षेत्रबीच सहकार्यका लागि निरन्तर पहल गर्दै आएको छ । नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले इप्पान र ईभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आगामी २०८३ माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) काठमाडौंमा आयोजना हुने भएको छ ।
उत्थानशिल ऊर्जा, समृद्ध नेपाल (Resilient Energy, Prosperous Nepal)’ भन्ने नारासहित आयोजना गर्न लागिएका यो एक्स्पो सन् २०१७, २०१८, २०२२ र २०२४ का संस्करणको निरन्तरताका रूपमा पाँचौं संस्करण हो । नेपालको ऊर्जा क्षेत्र उत्पादन क्षमता विस्तार, विद्युत् खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको अवस्थामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने एक्स्पोका अघिल्ला संस्करणबाट प्राप्त अनुभव र उपलब्धिलाई विस्तार गर्दै नेपालको जलविद्युत् तथा समग्र स्वच्छ ऊर्जा क्षेत्रलाई नयाँ चरणमा लैजाने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
नेपाल सरकारले १० बर्षभित्र ३०,००० मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्य हासिल र यसका लागि बारम्बार परिवर्तन भईरहने प्रविधिहरुको उच्चत्तम उपयोग तथा लगानीकर्तादेखि नीति निर्माता, विज्ञ, विशेषज्ञ, सरकारी प्रतिनीधिहरु हुँदै उपकरण तथा मेशिनका उत्पादकहरु, आपूर्तिकर्तासहित निजी क्षेत्रको प्रतिनीधिहरु अर्थात ऊर्जा क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले एक्स्पो इप्पान डे को अवसर पारेर हरेक बर्षको माघ ३, ४ र ५ गतेलाई वार्षिक ऊर्जा इभेन्टका रूपमा नियमित गर्ने लक्ष्य राखिएको छ ।
आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको एक्स्पोलाई परम्परागत जलविद्युतको दायरालाई विस्तार गर्दै सौर्य, वायु, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड तथा डिजिटल प्रविधिसहितको व्यापक हरित ऊर्जा क्षेत्रमा केन्द्रित गर्ने गरी आयोजना गर्न लागिएको हो । एक्स्पोले नेपालको स्वच्छ ऊर्जा क्षेत्रका नवप्रवर्तन, लगानी र साझेदारीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ ।
किन हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ ?
नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा करिब ४३०० मेगावाट विद्युत् उत्पादन क्षमता बराबरका आयोजना निर्माण सम्पन्न भइसकेका छन्, जसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ । अहिले करिब ६,४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७,००० मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर निर्माणको तयारीमा रहेका छन् । यसले आगामी वर्षहरूमा नेपालको ऊर्जा उत्पादन क्षमता तीव्र रूपमा विस्तार हुने सम्भावना देखाएको छ । सरकारले आगामी १० वर्षमा विद्युत् जडित क्षमता ३०,००० मेगावाट पु¥याउने लक्ष्य अघि सारेको छ ।
यो लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक छ । त्यसैले यो राष्ट्रिय लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा एक्स्पोलाई अघि बढाउन लागिएको छ । ऊर्जा क्षेत्रको तीव्र विस्तारसँगै जलवायु परिवर्तन र जलवायुजन्य विपद्को जोखिम पनि बढिरहेको छ ।
इलाम, संखुवासभा, लमजुङका बाढी तथा पहिरो हुँदै भर्खरको भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको महाप्रलयसम्मलाई विश्लेषण गरी सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई केन्द्रमा राखेर एक्स्पोमा जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनबारे बहस तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य राखिएको छ ।
एक्स्पोले सिर्जना गर्ने अवसर
हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ ले जलविद्युतमा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्मको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्ने अवसर प्रदान गर्नेछ । एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका अवसर सिर्जना हुनेछन् । अन्तर्राष्ट्रिय कम्पनी तथा प्रतिनिधिमण्डलको सहभागिताले नेपाली ऊर्जा बजारमा नयाँ प्रविधि र लगानी भित्र्याउने, नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तथा नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय संवाद, लगानी र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने अवसरसमेत प्रदान गर्नेछ । यसपटक एकीकृत हरित ऊर्जा बजार (Integrated Green Energy Market Place) को अवधारणालाई अघि बढाउन लागिएको छ । यसको केन्द्रमा ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तन रहनेछन् ।
बीटुबी बैठकदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म
एक्स्पोका प्रमुख आकर्षणमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिनेछ । एक्स्पोमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ । विद्यार्थी तथा नवप्रवर्तकहरूले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई समेत एक्स्पोको आकर्षणका रूपमा समावेश गरिनेछ ।
भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता एक्स्पोमा गराउन लागिएको छ । सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञलाई एक्स्पोमा सहभागी हुनेछन । हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि इप्पानको सबैभन्दा ठूलो निजी क्षेत्रकेन्द्रित वार्षिक इभेन्टका रूपमा ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुँदैछ ।
समग्रमा ३०,००० मेगावाटको राष्ट्रिय लक्ष्य हासिल गर्ने यात्रामा आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्नुका साथै जलवायुजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित, दिगो र उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा एक्स्पोले योगदान पु¥याउने विश्वास हामीले लिएका छौ । एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । प्रदर्शनीका साथै ज्ञान, प्रविधि, लगानी र व्यवसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको छ । स्टल बुकिङ तथा सहभागितासम्बन्धी थप जानकारीका लागि इप्पान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसन प्रालिमा सम्पर्क गर्न आयोजकले सम्बन्धित सबैमा अनुरोध गर्दछौ ।











