काठमाडाैँ । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) तथा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत मुख्य तथा उपठेकेदार कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउन थालेका छन् ।
एनडब्लुइडिसीका अनुसार मुख्य ठेकेदार डुसान इर्नबिलिटी तथा उपठेकेदार एन्ड्रिट्ज र पावर चाइनाले प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । यस्तो रकम सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराइँदैछ ।
नजिकको हकदारले पहिचान प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क गरी आवश्यक समन्वय गर्न सक्ने कम्पनीले जनाएको छ । आर्थिक राहतसँगै बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा बेपत्ता कामदारका परिवारलाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउन थालिएको छ ।
कम्पनीहरूले तत्कालीन राहतका अतिरिक्त सम्बन्धित कानून तथा कम्पनीका नीतिअनुसार प्रभावित कामदार तथा कर्मचारीका लागि सहयोग तथा क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया पनि अघि बढाएका छन् । बाढीपछि घाइते अवस्थामा उद्धार गरिएका केही कामदारको उपचार सफलतापूर्वक सम्पन्न भई अस्पतालबाट डिस्चार्ज गरिएको कम्पनीले जनाएको छ । घाइते कामदारको उपचारमा कम्पनीहरूले निरन्तर सहयोग गरिरहेको पनि बताइएको छ ।
थप २१ सदस्यीय उद्धार टोली परिचालन
खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन डुसानबाट थप २१ सदस्यीय उद्धार टोली भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ मा आयोजना स्थलस्थित क्याम्पमा पुगेको छ ।
टोलीले थप खोजी तथा उद्धार कार्यका लागि अस्थायी क्याम्प स्थापना गर्न मिल्ने स्थानको पहिचान गर्न थालेको कम्पनीले जनाएको छ । आयोजना स्थलसम्म पुग्न कठिनाइ भएकाले खोजी तथा उद्धार कार्यमा ढिलाइ भइरहेको बताइएको छ । भदौ २३ गतेसम्मको अनुमानअनुसार ५१२ जना कामदार अझै बेपत्ता वा सम्पर्कविहीन अवस्थामा रहेका छन् ।
एनडब्लुइडिसी तथा ठेकेदार कम्पनीहरूले सुरक्षा निकाय र नेपाली उद्धार टोलीले सञ्चालन गरिरहेको खोजी तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जनाएका छन् । उद्धार कार्यका लागि आवश्यक सामग्रीसमेत सुरक्षा निकायलाई उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन ठूला उपकरणहरू हवाई माध्यमबाट आयोजना स्थलसम्म पुर्याउने प्रक्रिया समेत सुरु गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले कामदार तथा कर्मचारीका परिवारबाट प्राप्त प्रश्न तथा सुझावका लागि डुसान, एन्ड्रिट्ज र पावर चाइनाका प्रतिनिधि उपलब्ध रहने जनाएको छ । जारी खोजी तथा उद्धार कार्यलाई सहयोग गर्न कम्पनीहरूले आफ्नो तर्फबाट सम्भव भएसम्म सबै आवश्यक प्रयास जारी राख्ने प्रतिबद्धता पनि जनाएका छन् ।











