काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड लाइन वापतको थप महसुल बक्यौता रहेको भन्दै ६ अर्ब ६० करोड ५८ लाख रुपैयाँ बक्यौता तिर्नुपर्ने जानकारीसहितको पत्र पठाएको छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल तिर्न ६१ वटा उद्योगलाई पत्र पठाएको हो ।
प्राधिकरणले सोमबार (असार १० गते) देखि लागु हुने १५ दिनभित्र बाँकी बक्यौता बुझाउन भन्दै पत्राचार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले प्राधिकरणलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको थप महसुल उठाउन निर्देशन सहितको पत्र लेखेपछि प्राधिकरणले पत्राचार सुरु गरेको हो ।
गत जेठ तेस्रो साता मन्त्रिपरिषदले उक्त अवधिको थप महसुल उठाउने निर्णय गर्दै पत्राचार गरेको थियो । ऊर्जा मन्त्रालयले २०७२ माघदेखि २०७५ पुससम्मको थप महसुल उठाउने बाटो खोलेर पत्र पठाएपछि बक्यौता रहेकामध्ये कसको कति हुने भन्ने एकिन गर्न समिति बनाइएको थियो ।
प्राधिकरणका निर्देशक गणेश लुइटेलको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारिसकेका छन् । सोही प्रतिवेदनका आधारमा प्राधिकरणले पत्र काटेको हो ।
उद्योगीहरूले भने हचुवाको भरमा पठाएको वा प्रमाणविनाको फर्जि बिल भन्दै बक्यौता तिर्न अस्विस्कार गर्दै आएका छन् ।
प्राधिकरण, अमुवा वितरण केन्द्रले आज मात्रै अर्घाखाँची सिमेन्ट लिमिटेडलाई २०७२ माघदेखि २०७५ बैशाखसम्मको ४४ करोड ४६ लाख ८ हजार रुपैयाँ बक्यौता तिर्न पत्रचार गरेको छ । केन्द्रले १५ दिनभित्र थप दस्तुर नबुझाए कानूनबमोजिमको कारबाही गरिने जानकारी दिएको छ ।