काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरूको लाइन पुनः काटेको छ । प्राधिकरणले बक्यौता तिर्न नआएको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।
लामो सयमदेखि बारम्बार ताकेता गर्दा, बिल पठाउँदा पनि बक्यौता नबुझाएपछि लाइन काटेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता बाँकी छ ।
महसुल नबुझाउने अन्य उद्योगको पनि लाइन काट्ने तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले यस अघि बक्यौता बाँकी भएका उद्योगहरूलाई बाँकी बक्यौता भुक्तानी गर्न भन्दै बिल पठाएको थियो । उद्योगीहरूले भने हचुवाको भरमा पठाएको वा प्रमाणविनाको फर्जि बिल भन्दै बक्यौता तिर्न अस्विकार गर्दै आएका छन् । उनीहरूले के प्रमाणको आधारमा बिल पठाएको हो स्पष्ट पार्नु भन्दै जवाफ माग गर्दै आएका थिए ।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।
प्राधिकरणले गत मंसिरमा पनि ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २४ उद्योगको बिजुली काटेको थियो । सरकारले भने आयोग बनाएर विवादको समाधान निकाल्ने बताएसँगै २० दिनपछि उद्योगमा बिजुली जोडिएको थियो । साेही आयोगकाे प्रतिवदेनअनुसार प्राधिकरणले उद्याेगीहरूलाइ बक्याैता तिर्न पत्राचार गरेकाे हाे ।