Thursday, November 14, 2024
spot_img

प्राधिकरणले बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काट्यो, १५ उद्योगको काटिएन

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन वापतको बक्यौता नतिरेको भन्दै ३४ वटा उद्योगको विद्युत् लाइन काटेको छ । डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली खपत गरी प्रिमियमबापतको महसुल भुक्तानी नगर्ने उद्योगको लाइन बिहीबार रातिदेखि काट्न थालेको हो ।

बक्यौता बुझाउन बाँकी ४९ मध्ये ३४ उद्योगको लाइन काटेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी १५ उद्योगको भने लाइन काटिएको छैन । प्राधिकरणले दिएको ३ महिनाको अवधि बिहीबार पूरा भएसँगै बक्यौता नतिर्ने उद्योगहरुमा लाइन काटिएको छ । अदालतको स्टे रहेका ७ वटा र २ वटा सरकारी उद्योगको लाइन भने काटिएको छैन । साथै, ६ वटा उद्योगले भने पहिलो किस्ता बुझाएर बक्यौता तिर्न थालेकाले लाइन काटिएकाे छैन ।

यसअघि पनि बक्यौता नतिरेकोभन्दै प्राधिकरणले उद्योगहरूमा लाइन काटिदिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएपछि प्राधिकरणले गत साउन ८ गते तीन महिनाको समय थप गरी लाइन पुन जाेडिदिएको थियो ।

प्राधिकरणले तीन महिनाकाे समयावधि सकिनु अगावै असोज २४ गते सूचीसहित सूचना जारी गरी बक्यौता तिर्न आग्रह गरेको थियो । तर, उद्याेगीहरूले बक्याैता नतिरेपछि अटेर गर्ने सबैकाे लाइन काटेकाे हाे ।

यसै विषयमा बिहीबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको प्राधिकरणको बोर्ड बैंठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता बुझाउन दिएको समयावधि सकिएको भन्दै बक्यौता नतिर्ने उद्योगको लाइन काट्नुपर्ने प्रस्ताव राखेका थिए । तर, बैंठकले लाइन काट्ने वा नकाट्ने विषयमा लिखित रुपमा कुनै ठोस निर्णय गरेको थिएन् ।

१० वर्षअघि देखिको ट्रंक एण्ड डेडिकेटेड लाइन विवाद

ट्रंक एण्ड डेडिकेटेड लाइन सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच १० वर्षदेखिको विवाद अझै समाधान हुन सकेको छैन । अहिले त्यही विवादका कारण प्राधिकरण र उद्योगी व्यवसायी आमने–सामने भएका छन् । यो विवादको सुरुवात २०७२ सालदेखि भएको हो । प्राधिकरणले ट्रंक एण्ड डेडिकेटेड फिडर प्रयोग गरेवापत अतिरिक्त शुल्क लिने निर्णय २०७२ सालमा गरेपनि सबस्टेसनबाट सिधै विद्युत् आपूर्ति भने २०६९ सालदेखि नै सुरु गरेको थियो ।

सरकारले २०६९ मा अत्यावश्यक सेवा सञ्चालनका लागि सुरक्षा निकाय, स्वास्थ्य, सिंहदरबार, सञ्चार तथा खानेपानी सेवा, विमानस्थल लगायतका निकायमा नियमित विद्युत् आपूर्ति दिनु पर्ने नीति लिएसँगै सबस्टेसनबाट सिधै विद्युत् आपूर्ति गरेको थियो ।

प्राधिकरणबाट नियमित बिजुली लिएका औद्योगिक, व्यापारीक तथा गैरव्यापारीक वर्गका ग्राहकबाट अतिरिक्त शुल्क लिने अवधारण आयो । २०७२ असारमा प्राधिकरणको सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंक लाइनको फिडरको महसुल सामान्य दरमा १०० प्रतिशत थप गरी त्यही वर्षको साउनदेखि प्रिमियम दरको महसुल उठान थाल्यो ।

पछि विद्युत् महसुल निर्धारण आयोगले २०७२ पुस २९ गते २४ घण्टा नियमित विद्युत् आपूर्ति सेवा लिएको अवस्थामा अतिरिक्त शुल्क लिन प्राधिकरणलाई अनुमति दिएको थियो । जसअनुसार सरकारले २०७२ माघदेखि मात्रै प्रिमियम महसुल लगाउनु पर्ने निर्णय गर्यो । यो प्रकरणमा पहिलो चरण अर्थात् २०७२ साउन १ गतेदेखि २०७२ पुस मसान्तसम्मको हो ।

२०७२ माघदेखि २०७५ बैशाखसम्म ६ अर्ब ६० करोड बक्यौता

पछिल्लो समयको ट्रंक एण्ड डेडिकेटेड लाइन विवाद भने २०७२ माघदेखि २०७५ वैशाख मसान्तसम्म बिजुली प्रयोग गरेवातको बक्यौता असुली सम्बन्धी हो । जसमा बिजुली प्रयोग भएको सबै बिलमा थप प्रिमियम महसुल तिर्ने भन्ने हो ।

प्राधिकरणले २०७५ जेठमा उद्योगीहरूलाई प्रिमियम महसुल उठाउन छुटेको भन्दै बक्यौता तिर्न पत्राचार गर्न थाल्यो । धेरैजसो उद्योगीले प्राधिकरणकै दाबीअनुसार बिल भुक्तानी पनि गरे तर दुवै थरी लाइनबाट सेवा लिएका ६१ उद्योगले अहिलेसम्म बक्यौता नबुझाएको प्राधिकरणको दाबी छ ।

२०७५ वैशाख ३१ गतेदेखि सरकारले लोडसेडिङ अन्त्य भएको घोषणा गरेकाले त्यसपछिको समयको डेडिकेटेड र ट्रंक लाइनबापतको महसुल लागू गर्ने वा नगर्ने विषयमा पनि निर्णय गर्न मन्त्रालयले आयोगलाई सिफारिस गरेको थियो । प्राधिकरणले २०७५ चैतमा प्रिमियम महसुल तिर्न छुट बिल जारी गर्यो ।

अहिले प्राधिकरणले २०७२ माघदेखि २०७५ बैशाख मसान्तसम्मको ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै बिल जारी गरेको छ तर प्रमाण् दिन नसकेको उद्योगीहरूको आरोप छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल तिर्न ६१ वटा उद्योगलाई असार १० गतेदेखि लागु हुने १५ दिनभित्र बाँकी बक्यौता बुझाउन भन्दै असार ९ गते पत्राचार गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले प्राधिकरणलाई थप महसुल उठाउन निर्देशन सहितको पत्र लेखेपछि प्राधिकरणले पत्राचार सुरु गरेको थियो ।

प्राधिकरणले बक्यौता नबुझाएको भन्दै ६ वटा उद्योगको लाइन काटिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक र विद्युत् नियमन आयोगको लिखित निर्देशनपछि पनि प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडेको छैन ।

प्राधिकरणले गत मंसिरमा पनि ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २४ उद्योगको बिजुली काटेको थियो । सरकारले भने आयोग बनाएर विवादको समाधान निकाल्ने बताएसँगै २० दिनपछि उद्योगमा बिजुली जोडिएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img