काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य विद्युत् उत्पादनका लागि खुल्ला गरेको बाेलपत्रमा जेपर्ट राप्ति कन्सर्टिमले १२५ मेगावटको ठेक्का पाएको छ । कम्पनीले नेपालको विभिन्न जिल्लामा सौर्य ऊर्जा उत्पादन गर्न ठेक्का आएको हो ।
कम्पनीले १५० मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि प्रस्ताव गरेपनि प्राधिकरणले १२५ मेगावाटका लागि मात्रै ठेक्का स्वीकृत गरेको छ । कम्पनीले ५ देखि २० मेगावाट क्षमतासम्मका १० सौर्य आयोजनाको प्रतिकिलोवाट घण्टाको मूल्य ५.४९ रुपैयाँले ठेक्का पाएको हो ।
तनहुँमा २० मेगावाट, गुल्मीमा २० मेगावाट, अर्घाखाँचीमा २० मेगावाट, कपिलवस्तुमा १० मेगावाट, बर्दीयामा २० (१०÷१०) मेगावाट सौर्य आयोजना निर्माण गर्न ठेक्का पाएको जनाइएको छ । यसैगरी, दाङमा १० मेगावाट, बाँकेमा १० मेगावाट, कपिलवस्तु १० मेगावाट र कपिलवस्तुमा ५ मेगावाट सौर्य आयोजना निर्माण हुनेछ ।
प्राधिकरणले ८०० मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि प्रस्ताव आह्वान गरेको थियो । तर २ हजार मेगावाट भन्दा बढीको लागि आवेदन परेपछि प्राधिकरणले ९६० मेगावटको ठेक्का लगाएको हो ।
ठेक्का पाउनलेमध्ये १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरूले विद्युत् खरिद सम्झौता (पीपीए) भएको १८ महिनाभित्र उत्पादन गरिसक्नु पर्छ । साथै, १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूले पीपीए भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने छ ।
प्राधिकरणले आयोजनाबाट उत्पादीत विद्युत् २५ वर्षसम्म खरिद गर्नेछ । सौर्य विद्युत्को पीपीए दर २५ वर्षसम्म एउटै रहने हुँदा पहिलो पल्ट अर्थात २०८१ असार ४ गतेसम्मका लागि खुल्ला गरेको बोलपत्रमा आवेदन परेको थिएन् । दोस्रो पटक असार २५ गतेसम्म र तेस्रो पटक साउन ३० गतेसम्म आवेदन दिने म्याद थप गरेपछि विकासकर्ताहरूले आवेदन दिएका हुन् ।