Thursday, December 5, 2024
spot_img

तल्लो बरुण निर्माण गर्न पानी नाप्न पुगेका टोलीमाथि स्थानीयद्वारा ढुंङ्गामुढा

spot_img

Share

spot_img

काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिका भएर बग्ने बरुण नदीमा १३२ मेगावाटको तल्लो बरुण जलविद्युत् आयोजनाको विकास गर्न पानी नाप्न पुगेका टोलीमाथि स्थानीय बासिन्दाले ढुंङ्गामुढा प्रहार गरेका छन् । धार्मिक र सांस्कृतिक महत्व बोकेको तथा स्थानीयवासीको ठूलो आस्थाको केन्द्र रहेको बरुण नदीमा एम्पिक इनर्जी कम्पनीले आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन थालेपछि स्थानीय आक्रोशित बनेका हुन् ।

१३२ मेगावाटको तल्लाे वरुण जलविद्युत् आयोजनाको निर्माण थाल्नका लागि नदीको पानी नाप्न आएका कम्पनीका कर्मचारीहरूमाथि स्थानीयले ढुंङ्गामुढा गरेको वरुण तिर्थस्थल बचाव तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष छेरुक मुनाङ भोटेले बताए ।

‘आइतबार आयोजनास्थलमा आउने कम्पनीका पदाधिकारीहरूमाथि स्थानीयले ढुंङ्गामुढा सगै आयोजनासँग सम्बन्धित केही कागजपत्र पनि च्यातेका छन् । ड्रोन समेत नष्ट गरेका छन्,’ उनले ऊर्जा संचारसँग भने, ‘सरकारी निकाय तथा जल माफियाहरूले हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिएको नदीको महत्व गुमाउन खोजेका छन् ।’

‘भोटखोला गाउँपालिकामा मात्रै ५०/६० वटा जलविद्युत् आयोजना छन् । तर, तिर्थस्थललाई तथा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहरलाई बचाइराख्नुपर्छ भनेर बरुण जलविद्युत् आयोजनाको काम रोक्न माग गर्दै आएका छौ’ भोटेले भने ।

गाउँपालिकाले पनि यो नदीमा जलविद्युत् आयोजना निर्माण नगर्ने निर्णय गरीसकेको छ । गाउँपालिकाको यो निर्णयलाई ४ स्थानीइ राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले, नेकपा माओवादी, एकिकृत समाजवादी पार्टी) ले समर्थन जनाई जलविद्युत् विकासको काम रोक्न निर्देशन दिएका छन् ।

नदीमा जलविद्युत् उत्पादन तथा मेसिनहरूको प्रयोग समेत गर्न नदिने स्थानीयको भनाई छ । तल्लो बरुणको निर्माण प्रक्रिया अघि बढाएपछि मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको छ । पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भविष्यमा अस्तित्व हराउने उनीहरूको विश्वास छ ।

विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी निर्माण कम्पनीलाई कामको जिम्मा दिनु आपत्तिजनक भएको स्थानीयको भनाई छ ।

ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्व खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने उनको भनाइ थियो । बरुण नदीले ऐतिहासिक, धार्मिक एवं मौलिक पहिचान बोकेकाले यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

तल्लो बरुण जलविद्युत् आयोजना

विभागले कम्पनीको नाममा उत्पादन अनुमति जारी गरिसकेको छ । कम्पनीले पनि आयोजनाको काम निर्माण सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजना निर्माण सम्पन्न गर्न २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादीत विद्युत् २२० केभी प्रसारण लाइनमार्फत १.७३ किलोमिटर दुरीमा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img