Sunday, January 19, 2025
spot_img

रसुवागढीको परीक्षण सम्पन्न, पुस दोस्रो साताभित्र व्यावसायिक उत्पादन

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण सम्पन्न भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सबै युनिटहरूको उत्पादन परीक्षण सफतापूर्वक सम्पन्न भएको छ । मंसिर ६ गते एउटा युनिटबाट विद्युत् उत्पादन गरी सफलतापूर्वक राष्ट्रिय ग्रीडमा जोडिएको आयोजनाको परीक्षण सम्पन्न भएको हो ।

उत्पादन परीक्षण पूरा भएसँगै पुस दोस्रो साताभित्र व्यावसायिक उत्पादन सुरु गर्ने योजना रहेको आयोजना प्रमुख सत्यराम ज्याख्वले बताए । ‘अहिले युनिट २ र ३ को ‘ट्रायल रन’ भइरहेको छ । यो काम एक/दुई दिनभित्र सकिन्छ । त्यसपछि प्राधिकरणलाई १५ दिन निशुल्क विद्युत् दिन्छौं र पुसको दोस्रो साताभित्र व्यापारिक उत्पादन सुरु हुन्छ ।’

आयोजनाबाट उत्पादीत विद्युत् टिमुरे (तातोपानी)स्थित विद्युतगृहबाट आयोजनालेनै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।

उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौँ २२० केभी केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।

रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौं उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ । सुख्खायाम सुरुसँगै भोटेकोशी नदीमा पानीको वहाव घट्न सुरु भएसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयामा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा विद्युत्गृह, बाँध, सुरुङलगायतका सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनस“ग ३० पुस २०७० (५ जनवरी २०१४)मा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि, भारतसँग १५ साउन २०७१ (३१ जुलाइ २०१४)मा ठेक्का सम्झौता भएको थियो ।

२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिव अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या,प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९को महामारीलगायतका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । आयोजनाबाट गत चैतसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो । तर, आयोजनाको विद्युत् जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले विद्युत उत्पादन केही ढिलाइ भएको हो ।

प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तय गरी सोही आधारमा ५० प्रतिशत स्वपूँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको थियो । आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रुपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन भएको कारण संसोधित अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो ।

काबू बाहिरको परिस्थितिका कारण आयोजना आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिकको व्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ छ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर छ । आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ ।

कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५.५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरु ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह¬)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुको ४.५ प्रतिशत, आयोजना प्रभावित रसुवाबासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ ।

आयोजनाबाट वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img