Sunday, January 19, 2025
spot_img

निर्माण सुरु भएको साढे ५ वर्षमा पनि पूरा भएन कोहलपुर–सुर्खेत लाइन

spot_img

Share

spot_img

काठमाडौँ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको लाइनको निर्माण सुरु भएको साढे ५ वर्षसम्म पनि पूरा हुन सकेको छैन ।

२०७६ साल असार २२ गते भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग सम्झौता गरी लाइनको निर्माण प्रक्रिया अघि बढाइएको थियो । सम्झौताअनुसार २०७८ असार २३ गतेभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ अघि बढाइएको लाइनको काम अझै पूरा हुन सकेको छैन ।

बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै वैजनाथ गाउँपालिका–१ गाभर, बाँनियाभारका स्थानीयवासीले आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नसकेको जनाइएको छ । बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन सकेको छैन ।

आयोजनाविरुद्ध गाभर, बाँनियाभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जमा रिट दायर गरेका थिए । अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारण लाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएकोे थियो । गाभरमा ६ वटा, बाँनियाभारमा ३ वटा गरेर ९ वटा टावर निर्माण हुन बाँकी रहेको छ ।

उक्त टावरहरू निर्माणस्थलका स्थानीयवासीसँग मुआब्जा दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ । बाँनियाभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुनै ठाउँमा समस्या समाधान नजिक रहेको बताए । अवरोध भएमा त्यसको हल प्रशासनले गर्ने समेत उनले बताए । आयोजना प्रमुख चौधरीका अनुसार बाँनियाभारमा केही अवरोध भएको र तोकिएको मुआब्जा दिन तयार भएको छ ।

आयोजना प्रमुख चौधरीका अनुसार टावर निर्माण गरिएको क्षेत्रमा जग्गाको मूल्य २५, २८ र ३२ लाख निर्धारण गरिएको छ । बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ ।

कोहलपुर–सुर्खेत सम्म १६१ वटा टावर रहेका छन् । आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किलोमीटर क्षेत्रमा टावर निर्माण सकेर तार तान्ने काम सकिएको छ । हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानी सम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले बताए । १४ किलोमिटर लामो हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ ।

अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ । निकुञ्जमा ७० वटा टावरमध्ये ६ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेशनमा विद्युत् चार्ज गर्नेगरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले बताए ।

आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको समेत उनले बताए । सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ । सोही कारणले विद्युत् अनियमितता हुनुका साथै लो भोल्टेजका कारण काम गर्न समेत समस्या हुँदै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img