काठमाडौँ । सरकारले ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको पहुँचमा तिव्रता ल्याएको छ । वैकिल्पक ऊर्जालाई प्रोत्साहन गर्ने नीति लिएपछि नवीकरणीय ऊर्जाको पहुँचमा वृद्धि भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म करिब ९८ प्रतिशत घरधुरीमा विद्युत् सेवा विस्तार भइसकेको छ । जसमा करिब ६ प्रतिशत हिस्सा नवीकरणीय ऊर्जाको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्यको बुँदा ७ मा उल्लेखित ऊर्जा क्षेत्रको उद्देश्य हासिल गर्न करिब ९९ प्रतिशत घरधुरीमा विद्युतीय ऊर्जाको पहुँच पुर्याउने लक्ष्य राखेको छ । साथै, दाउरालाई मुख्य इन्धनको रूपमा प्रयोग गर्ने घरधुरीलाई १० प्रतिशतमा झार्ने लक्ष्य छ ।
सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नै स्थापना गरेर नवीकरणीय ऊर्जाको पहुँच विस्तार गरिरहेको छ । केन्द्रले विभिन्न संघ संस्था तथा स्थानीय निकायहरूसँग सहकार्य गरी नवीकरणीय ऊर्जा उत्पादन तथा प्रवर्द्धनमा अनुदान समेत दिँदै आएको छ ।
नवीकरणीय ऊर्जामार्फत पहुँच वृद्धिसँगै सेवा भरपर्दो, गुणस्तरीय र दिगो बनाउने काम गर्दै आएका केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बताए । स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तार गर्न सोलारसहित विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलो लगायतका प्रविधिको प्रवर्द्धन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए ।
केन्द्रले नेपाल विद्युत् प्राधिकरणको पहुँच नभएको ग्रामिण क्षेत्रमा सौर्य वायु हाइब्रिड, लघु जलविद्युत्मार्फत विद्युतीकरण गर्दै आएको छ ।
केन्द्रकै सहयोगमा हालसम्म ९ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत् प्रणाली जडान भइसकेको केन्द्र प्रमुख ढकालले जानकारी दिए । यसैगरी, ४ हजार ३३२ संस्थागत सौर्य प्रणाली, ३ हजार ९७ किलोवाट पिक सौर्य मिनी ग्रिड जडान भइसकेको छ ।
केन्द्रले १८ हजार २९३ किलोवाट पिक सौर्य रुफटप, २ हजार ४६४ सौर्य ड्रायर तथा कुकर जडान, ३ हजार ६९९ सौर्य खानेपानी तथा सिँचाइ पम्प जडान गरिसकेको छ ।
केन्द्रको अनुदान तथा सहयोगमा हालसम्म ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत् उत्पादन भइसकेको छ । ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, १ लाख ३२ हजार २११ घरायसी बायोग्यास, १४ लाख २३ हजार २४२ सुधारिएको माटोको चुलो, ३६९ संस्थागत, शहरी तथा व्यवसायिक वायोग्यास, १ हजार ७६६ ऊर्जाको उत्पादनमूलक परिप्रयोग, ३ हजार ३०९ सौर्य सडक बत्ती र ४ हजार ७५८ मठ मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा जडान सम्न्न भएका छन् ।
केन्द्रले हालसम्म समग्रमा देशको करिब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याइसकेको छ । कूल विद्युतको पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब ६ प्रतिशत रहेको छ ।
सरकारले विभिन्न विकास साझेदारहरूको सहयोगमा स्वच्छ ऊर्जाको पहुँचमा वृद्धि गर्न आर्थिक तथा प्राविधिक सहयोग लिँदै आएको छ । नवीकरणीय ऊर्जा अनुदान नीतिमार्फत नवीकरणीय ऊर्जा प्रविधिको लागतमा कमी ल्याउने, गुणस्तर सुनिश्चित गर्ने र प्रविधिप्रति उपभोक्ताको विश्वास बढाउने काम गर्दै आएको छ ।
दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेको नागरिकलाई लक्ष्य गरेर सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा वैकल्पिक ऊर्जालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा राखेको छ ।
नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरू क्रियाशील रहेका छन् ।








