Sunday, March 23, 2025
spot_img

माथिल्लो राहुघाटले ५ महिनाभित्र उत्पादन थाल्ने

spot_img

Share

spot_img

काठमाडाैँ । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुन्दी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युतगृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई एकसाथ अघि बढाइएकाे छ ।

अहिले विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको जनाइएकाे छ । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।

“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उनले भने,“विद्युतगृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।”

तुन्दी पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युतगृहभित्र टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम तिव्रताका साथ भइरहेको बताए ।

रघुगङ्गा–७ चिमखोलामा बाँध र रघुगङ्गा–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ ४९०० मिटर लामो छ । “आउटलेटबाट विद्युत्गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब १०० मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”, उनले भने, ।

तुन्दी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगङ्गा–८ को बन्दीमा बाँध, रघुगङ्गा–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रहेको तुन्दी पावरका इन्जिनियर  भट्टराईले उल्लेख गरे ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म २२० केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रो पावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ । 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img