Friday, July 11, 2025
spot_img

प्राविधिक मूल्यांकनमा छनौट भए जियाङ्क्षी र सिनो, कुनले पाउँछ जगदुल्लाको ठेक्का ?

spot_img

Share

spot_img

काठमाडौँ । जलदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः आह्वान गरेको ठेक्कामा आवेदन दिएकामध्ये दुई चाइनिज कम्पनी प्राविधिक मूल्यांकनमा छनौट भएका छन् । आवेदन दिएका ४ कम्पनीमध्ये जियाङ्क्षी कन्स्ट्रक्सन इन्जिनियरीङ ग्रुप कर्पोरेशन लिमिटेड र सिनो हाइड्रो कर्पोरेशन लिमिटेड प्राविधिक प्रस्तावमा छनौट भएका छन् ।

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रो पावरले गत माघ ६ गते पुनःठेक्का आह्वान गरेको थियो । कम्पनीले सिभिल र हाइड्रो मेकानिकल तर्फको काम गर्नका लागि ठेक्का आह्वान गरेको थियो ।

कर्णाली प्रदेशको डोल्पा जिल्लामा अघि बढेको आयोजना निर्माण गर्न गत जेठ २० गते ठेक्का खुल्ला भएको थियो । जसमा आवेदन दिएका सबै कम्पनीहरू प्राविधिक प्रस्तावमा पास हुन नसकेपछि ठेक्का रद्द भएको थियो । कम्पनीले लट २ अन्तर्गतको सिभिल तथा हाइड्रो मेकानिकलको काम गर्नका लागि ७ कम्पनीले आवेदन दिएका थिए ।

आयोजनाको विवरण

आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा निर्माण प्रस्ताव गरिएको छ । यसको बाँध जगदुल्ला–२ हुरिकोटमा निर्माण हुनेछ । ६.२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । आयोजना पिकिङ रन अफ दि रिभर (आंशिक जलाशय) प्रकृतिको हुनेछ ।

अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ । आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ । यो आयोजनाको मुख्य संरचनाहरू नदीको बायाँ किनारामा पर्दछन् ।

योजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४ं६ मिटर लामो प्रसर स्टाफर्मात पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य छ । आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।

प्रस्तावित जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । यो आयोजना याप्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरेको हो ।

आयोजनाको लगानी

कम्पनीले आयोजना निर्माणका लागि गत जेठ २ गते मात्रै वित्तिय व्यवस्थापन गरेको थियो । सम्झौताअनुसार आयोजनामा आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने टुंगो लागेको छ ।

नबिल बैंकले ४ अर्ब ४० करोड, एचआइडिसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजना निर्माण सम्पन्न गर्न २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहनेछ ।

पीपीए

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो २०८० बैशाख २८ गते पीपीए भएको हो । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।

उत्पादन अनुमति

कम्पनीले विद्युत् विकास विभागबाट पुस २३ गते अनुमति पत्र पाएको हो । पुस २३ गते सबेको ऊर्जा सचिवस्तरीय बैंठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको हो ।

यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img