पछिल्लो समय प्रत्येक दिनजसो विद्युत् आपूर्ति कटौती हुन थालेको छ । दिनमा कम्तिमा पनि २ पटकसम्म विद्युत् आपूर्ति बन्द हुन थालेपछि सर्वसाधारण जनता आक्रोसित हुन थालेका छन् ।
जेठ १ गते राति ८ बजेतिर करिब ३ घण्टा विद्युत् आपूर्ति बन्द भयो । ठ्याक्क खाना खाने समयमा बत्ति गएपछि धेरैले फेसबुक, टिकटक लगायतका सामाजिक सञ्चालमार्फत नेपाल विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई इंकित गरेर ‘स्टाटस’ राखेका थिए । जसमा अधिकांश वर्तमान कार्यकारी निर्देशक शाक्यलाई गाली गरेको भेटियो ।
जेठ १ गते विद्युत् आपूर्ति भने प्राविधिक कारणले बन्द भएको प्राधिकरणले जानकारी दिएका थियो । भारतबाट विद्युत् आयात हुने ४०० केभीको ढल्केबर मुजफ्परपुर प्रसारण लाइनमा समस्या आएपछि काठमाडौँ लगायत मध्य र पूर्वी नेपालको विद्युत् कटौति भएको थियो ।
अहिले नेपालको विद्युत् उत्पादन करिब १५०० मेगावाटको हाराहारीमा छ तर, पिक आवरमा डिमाण्ड करिब २००० हजार मेगावाटसम्म पुग्छ । यो डिमाण्ड पूरा गर्न प्राधिकरणले छिमेकी राष्ट्र भारतबाट विद्युत् आयात गरिरहेको छ । साथै, रातको समयमा खपत नभएको विद्युत् भारतमा निर्यात पनि गरिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले शुक्रबार अर्थात जेठ २ गते स्यूचाटारमा पत्रकार सम्मेलन गरेर विद्युतीय पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या भइरहेको जानकारी दिए । उत्पादन, मागअनुसारको पूर्वाधार कमजोर हुँदा यसको असर आमसर्वसाधारणमा परेको छ । जसका कारण प्राधिकरणका कर्मचारीहरूलाई काममा खटिनु समस्या भएको जनाइएको छ ।
बारम्बार बत्ति जानु थालेपछि सर्वसाधारणले प्राधिकरणमा फोन गरेर कुलमान घिसिङ हुँदा बत्ति नजाने र हितेन्द्रदेव शाक्य आउनेबित्तिकै बत्ति जाने भन्दै कर्मचारीहरूलाई गाली गर्न थालेका छन् । यति मात्र नभएर मिटर रिडर गर्ने कर्मचारीहरूलाई काम गर्न समस्या भएको छ ।
केही दिन अघि सामाजिक सञ्चाल ‘टिकटक’मा मिटर रिडर गर्न आउने एक कर्मचारीको एउटा भिडियो भाइरल भयो । भिडियोमा के भनिएको छ भनेः सर्वसाधारणः बत्ती नै आउँदैन मिटर रिडर गरेर के गर्ने ? कर्मचारीः केही प्राविधिक समस्याले बत्ति गएको हो सधै त्यस्तो हुँदैन । सर्वसाधारणः बत्ती नै नआएपछि पैसा पनि तिर्दैनौ, मिटर रिडर गर्नुपर्दैन । कर्मचारीः हाम्रो काम मिटर रिडर गर्ने हो, त्यो गर्छौ । अरु कूरा माथिबाट थाहा हुन्छ ।
प्रत्येक दिन झ्याप्पझ्याप्प विद्युत् जान थालेपछि सर्वसाधारणहरू आक्रोशित भएको छन् जसको असर मिटर रिडर लगायत प्राधिकरणको कर्मचारीहरूमा परेको प्राधिकरणका एक मिटर रिडरले बताए ।
‘मिटर रिडर गर्न जादाँ बत्ति नै आएको छैन, किन मिटर चेक गर्ने ? हामीले पैसा किन तिर्ने ? के को पैसा तिर्ने ? भन्दै सर्वसाधारणहरूले काममा बाधा हाल्न थालेका छन्,’ उनले भने, ‘अझ भिडियो नै बनाएर सामाजिक सञ्चालमा समेत राखेका छन् । जसले गर्दा हामीहरूलाई समस्या भएको छ ।’
विद्युत् उत्पादन बढ्दै गएपनि सोही अनुसार प्रसारण तथा वितरण लाइन बढ्न नसक्दा विद्युत् आपूर्ति प्रभावित भएको शाक्यले बताए । उनले विद्युतीय पूर्वाधारको विस्तार तीव्र गतिमा गरिएन भने आगामी दिनमा यस्तो समस्या दोहोरिने र ठूलो संकट निम्तिन सक्ने उनले बताए ।
विगतका वर्षहरूमा पनि प्रि–मनसुन र मनसुनको समयमा हावाहुरी, अधिक वर्षा, प्राविधिक कारण लगायतले लाइन ट्रिपिङको समस्या रहेकोले नआत्तिन र भ्रममा नपर्ने प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्राधिकरणले विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडि सामाजिक सञ्चालमा अभिव्यक्त भनाईमा कुनै सत्यता नरहेकोले आगामी दिनमा यस्तो समस्या आउन नदिन प्रयासरत रहेको जनाएको छ ।








