काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत निर्माण हुने न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन आयोजनाको निर्माण ठेक्का नेपाली कम्पनी वाइवा सलार जेभीले हात पारेको छ । एमसिसी अन्तर्गत निर्माण हुने ९० किलोमिटर लामो ४०० केभी लाइन निर्माणको ठेक्का नेपाली कम्पनीले पाएको हो ।
यो लाइन निर्माणका लागि ४ कम्पनी प्रतिस्पर्धामा थिए । जसमा नेपाली स्वामित्वको वाइवा सलारले सबैभन्दा कम आर्थिक प्रस्ताव गरी टेण्डर हात पारेको हो । वाइवा सलार जेभीले ७ करोड ७० लाख ३० हजार अमेरिकी डलर प्रस्ताव गरेको थियो ।
एमसिसी अन्तर्गत निर्माण हुने लाइन तथा सबस्टेसन मध्ये नेपाली कम्पनीले ठेक्का हात पारेको यो पहिलो हो । यसअघि ठेक्का सम्झौता भएका प्रसारण लाइन र तीन सबस्टेसनको निर्माण ठेक्का विदेशी कम्पनीले नै पाएका छन् ।
यसअघि १८ किलोमिटर लामो ४०० केभीको ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारण लाइनको ठेक्का भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडले पाएको थियो । यो कम्पनीसँग १४ भदौ २०८० मा एक करोड २३ लाख ६० हजार डलरमा ठेक्का सम्झौता भइसकेको छ ।
यसैगरी, एमसिसी अन्तर्गत कै ९० किलोमिटर लामो राटमाटे–न्यू दमौली प्रसारण लाइनको ठेक्का भने भारतको एनजेलिक–स्किपर जेभीले पाएको छ । कम्पनीले उक्त लाइन निर्माण गर्न ७ करोड ७४ लाख ८० हजार डलर प्रस्ताव गरेको थियो ।
‘न्यु बुटवल–नेपाल/भारत सीमा’को ठेक्का सम्झौतापश्चात बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि मंसिर १२ गते ठेक्का आह्वान गरिएको थियो । सो बमोजिम १८० किलोमिटर लामो दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता हुन लागेको हो ।
एमसिए नेपालका कार्यकारी निर्देशक खड्क बहादुर बिष्टले १४ अगष्ट अर्थात साउन २९ गते यी दुई प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गर्ने तयारी भइरहेको जानकारी दिए । ठेक्का सम्झौता भएको ३६ महिनाभित्र लाइन निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । निर्धारित तालिकाभित्र सम्पन्न गर्न धेरै चुनौति रहेको विष्टले बताए ।
‘एमसिसी अन्तर्गतको याे लाइन नेपालका आयोजनाहरूमध्ये सबैभन्दा ग्राह्रो आयोजना हो । लाइनको रुटमा १४७ सामुदायिक वनहरू पर्दछन्’ उनले भने । उनले १० जिल्लामध्ये ७ जिल्लामा जग्गा अधिग्रहणको काम अघि बढीसकेको पनि जानकारी दिए ।
एमसिसी अन्तर्गत ३१५ किलोमिटर लामो लाइन निर्माण हुँदैछ । १८ किलोमिटर लामो ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ को ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । ९० किलोमिटर लामो न्यू दमौली–न्यू बुटवल र ९० किलोमिटर लामो राटमाटे–न्यू दमौलीको भोली ठेक्का सम्झौता हुँदैछ ।
बाँकी ११८ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–हेटौँडा पनि ठेक्का प्रक्रिया रहेको छ । यसको ठेक्का आह्वान भई ६ कम्पनीले निर्माण प्रस्ताव गरेकोले अहिले ठेकेदार छनोटको चरणमा रहेको छ ।
एमसिए नेपालले ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो प्रसारण लाइनलाई ३ वटा प्याकेजमा निर्माण गर्ने गरी १२ मंसिर २०७९ मा ठेक्काको सूचना निकालिएको थियो ।
लप्सिफेदी–रातमाटे–न्यु हेटौँडा (११७ किमि) पहिलो खण्ड, रातमाटे–न्यु दमौली (९० किमि) दोस्रो खण्ड र न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किमि) तेस्रो खण्ड गरी कुल ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको थियो । तर, प्रस्तावकहरूले अनुमानित लागतभन्दा बढी प्रस्ताव गरेपछि २०८० असोज २६ गते ठेक्का रद्द गरिएको थियो ।








