बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्काे हबका रूपमा विकसित भइरहेको छ । पालिकाकाे खोलानालामा दुई आयोजना सम्पन्न भइसकेका छन् भने दुई आयोजनाको निर्माण तीव्र गतिमा जारी छ र अन्य दुई योजना प्रक्रियामा रहेका छन् ।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिसकेको छ । यसअघि समुदायको पहलमा स–साना लघु जलविद्युत् आयोजना सञ्चालनमा रहेका थिए ।
पाँच वर्षअघि ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हाल मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना निर्माणाधीन छ, जसको करिब ६० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । त्यस्तै, ४ मेगावाट क्षमताको दरम ‘ए’ आयोजनामा करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यसबाहेक, ३.५ मेगावाट क्षमताको तल्लो ताराखोला आयोजना र ४.५ मेगावाट क्षमताको मध्यदरम ‘बी’ आयोजना हाल प्रक्रिया चरणमा रहेका छन् ।
गाउँपालिका अध्यक्ष धनबहादुर विकले आयोजना निर्माणमा स्थानीयको समेत ठूलो लगानी रहेको भन्दै यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, ताराखोला हुँदै गलकोटसम्मका आयोजनाले क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउनेछ ।
गाउँपालिका उपाध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिन थालेपछि स्थानीयस्तरमा उत्साह बढेको बताए । उनले विद्युत् उत्पादनमार्फत गाउँपालिकाको आर्थिक उन्नयनसँगै नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । रासस








