Sunday, June 21, 2026
spot_img

राहुघाट र सहायक नदीमा ५८.८ मेगावाटका आयोजनाको निर्माण सम्पन्न

spot_img

Share

spot_img

म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८.८ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

तुँदीपावर कम्पनीले निर्माण गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जा लिमिटेडको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेका हुन् ।

रघुगंगा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायीरूपमा राष्ट्रिय प्रणालीमा जोडिएको हो । डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजना निर्माण पूरा नभएकाले उत्पादित विद्युत् खेर जान नदिन अस्थायी संरचनामार्फत राष्ट्रिय प्रणालीमा जोडिएको तुँदी पावरका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।

बन्दीदेखि चिमखोलास्थित चिमखोला राहुघाट मंगलेको विद्युत‌गृहसम्म ८ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२‍.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।  चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला राहुघाट मंगले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।

रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेमा निर्माण भएको ठूलोखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक संयुक्त ऊर्जाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले यही भदौदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको जानकारी दिँदै आयोजना पूर्ण क्षमतामा सञ्चालन भएको बताए ।

३ अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले लगानी गरेका छन् । कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको ठूलोखोलाको ३ हजार ३८२ मिटर सुरुङ र ६३४ मिटर पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीमा निर्माण भएको विद्युत‌गृहमा खसालेर विद्युत् उत्पादन गरेको हो ।

रघुगंगा गाउँपालिका-८ बन्दीमा बाँध रहेको चिमखोला मंगले राहुघाट जलविद्युत् आयोजनाको ५ किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगंगा-७ चिमखोलाको बगरस्थित विद्युत‌्गृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन बनाएको छ । चिमखोला मंगले राहुघाटसहित तुँदी पावर नै प्रवर्द्धक रहेको ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ रहेको छ ।

यसैबिच, अपर राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रवर्द्धक ४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छन् । रासस

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img