काठमाडाैँ । दाङको घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत् बक्यौतामध्ये पहिलो किस्ता बुझाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कम्पनीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरिएको प्रिमियम विद्युत् महसुलबापतको बक्यौता रकम तिर्न सुरु गरेको हो ।
प्राधिकरणले कम्पनीमाथि करिब २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको र उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको जनाएको छ । सोही क्रममा कम्पनीले मंगलबार ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ ।
बक्यौता तिर्न अस्वीकार गरेपछि गत कात्तिक ७ गते काटिएको कम्पनीको विद्युत् लाइन मंगलबार साँझ पुनः जडान गरिएको हो । लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विशेष रूपमा आपूर्ति गरिएको विद्युत् उपयोगबापतको प्रिमियम महसुल लामो समयदेखि विवादमा परेका उद्योगहरूले किस्ताबन्दीमा तिर्ने सहमति गरेका छन्।











