Sunday, December 7, 2025
spot_img

जलविद्युत् विस्तारमा चिलिमेको आक्रामक मोड, करिब ६ सय मेगावाटका आयोजना सक्रिय

spot_img

Share

spot_img

काठमाडौँ । जलविद्युत् क्षेत्रमा स्थापनाकालदेखि नै रणनीतिक भूमिका खेलेको चिलिमे हाइड्राे पावर कम्पनी लिमिटेड पछिल्ला वर्षहरूमा जलविद्युत् विस्तारमा आक्रामक रुपमा उत्रिएको छ । सहायक कम्पनीको संरचना बलियो बनाउँदै कम्पनीले करिब ६ सय मेगावाट क्षमताका ९ जलविद्युत् आयोजना निर्माण विभिन्न चरणमा अघि बढाएको छ ।

कम्पनीका अनुसार यी परियोजनामध्ये केहीले उत्पादन थालिसकेका छन्, केही निर्माणको तीव्र गतिमा छन् भने बाँकी परियोजना छिट्टै निर्माणमा जाने तयारीमा छन् ।

उत्पादनमा रहेका आयोजनाहरूः २९२.४ मेगावाट ग्रिडमा

चिलिमे हाइड्रो आफैले निर्माण गरेको २२.१ मेगावाट चिलिमे आयोजनाले सुरुदेखि नै स्थिर उत्पादन गर्दै आएको छ । कम्पनीको अगुवाइमा स्थापना भएका सहायक कम्पनीहरूले निर्माण गरेका १६८.३ मेगावाट क्षमताका माथिल्लो सान्जेन (१४.८ मेगावाट), सान्जेन (४२.५ मेगावाट) र रसुवागढी (१११ मेगावाट) आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा नियमित रूपमा प्रवेश गरिरहेको छ । यसैबीच, लामो समयबाट प्रतीक्षित १०२ मेगावाटको मध्य भोटेकोसी पनि उत्पादनमा आएसँगै चिलिमे समूहको उत्पादन क्षमता २९२.४ मेगावाट पुगेको छ ।

३०४ मेगावाटका निर्माणमा जान लागेका आयोजना

कम्पनीले सम्भाव्यता अध्ययन अनुमतिसहित अघि बढाइरहेका ३०४ मेगावाट क्षमताका चार आयोजना निर्माण सुरु हुने प्राविधिक तयारीमा छन् । ८७ मेगावाटको सेतीनदी–३ आंशिक जलाशययुक्त, ८१ मेगावाटको बुढीगण्डकी प्रोक, ९१ मेगावाटको बुढीगण्डकी, ४५ मेगावाटको चुमचेत स्यारखोला निर्माणमा जाने तयारीमा छन् । यीमध्ये बुढीगण्डकी प्रोक र स्यारखोला आयोजनाले निर्माण अनुमतिपत्र प्राप्त गरिसकेका छन् भने अन्य दुई आयोजनाका अनुमति प्रक्रियालाई कम्पनीले अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

लामाे समयदेखि रोकिएको अध्ययन अब गतिमा

विशेषगरी बुढीगण्डकी आयोजनाका लागि स्थल अध्ययन अनुमति नपाउँदा अढाई वर्षसम्म काम अवरुद्ध हुनुपरेको कम्पनीले जनाएको छ । भू–आकृति, ढुंगा–पाकि, संभावित जलाशय क्षेत्र, प्रभावित बस्ती र वातावरणीय झुकावका विषयमा स्थलगत अध्ययन आवश्यक भए पनि सरकारले समयमै अनुमति नदिँदा योजनामा ढिलाइ भएको थियो । हाल भने अनुमति प्राप्त भएसँगै टोलीहरू आयोजनास्थलमै पुगेका छन् र विस्तृत अध्ययन, सर्भे, डाटा संकलन, भू–प्राविधिक परीक्षणलगायत कामहरू तीव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ ।

वित्तीय व्यवस्थापनका छलफल, लगानीकर्ता ‘पुल’ विस्तार

पहिलो प्राथमिकतामा रहेको सेतीनदी–३ आयोजना छिट्टै निर्माणमा लैजान कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग छलफल थालेको छ । आयोजनामै जाने सडक पूर्वाधार तयार भएकोले लगानी सुनिश्चित हुने बित्तिकै निर्माण सुरु गरिने बताएको छ ।

बुढीगण्डकी प्रोक र चुमचेत स्याखोला आयोजनातर्फ पुग्ने पहुँच सडक पर्याप्त नभएकाले नेपाली सेनाको नेतृत्वमा सडक विस्तार र भौगोलिक कटानका कामहरू भइरहेको छन् । पहुँचमार्ग सम्पन्न भएलगत्तै हेडवक्र्स र टनेल खन्ने प्रारम्भिक कार्य सुरु गरिने तयारी छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img