काठमाडाैँ । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गते (आज) देखि आईपीओको पहिलो चरण बिक्री खुला गरेको छ । कम्पनीले यस चरणमा आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले सोलुखुम्बु जिल्लाका स्थानीयवासीका लागि कुल १ करोड कित्ता सेयर निष्काशन गरेको छ । यसमध्ये ४० लाख कित्ता अत्यधिक प्रभावित सोलु दुधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका–१ का स्थानीयका लागि छुट्याएको छ । बाँकी ६० लाख कित्ता सो नगरपालिका तथा गाउँपालिकाका अन्य वडाका स्थानीयलाई प्रदान गरिनेछ ।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा मंसिर २१ गतेसम्म र माग भर्न पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस ७ गतेसम्म दिन सकिनेछ ।
यस्तै, वैदेशिक रोजगारीमा श्रम स्वीकृति प्राप्त नेपालीका लागि १० लाख कित्ता शेयर जारी गरिएको छ। यस समूहले पनि न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् र आवेदन मंसिर १० गतेसम्म गर्न सकिनेछ ।
पहिलो चरण सकिएपछि कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई कुल २ अर्ब बराबरका २ करोड कित्ता शेयर निष्काशनको अनुमति दिएको हो ।
सोलु हाइड्रोपावरले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको तल्लाे सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ साउन २४ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ । कम्पनी त्रिवेणी समूहअन्तर्गत पर्दछ । यसमा त्रिवेणी, विशाल, गोयल, राठी, विद्या र जैन समूहहरूको लगानी रहेको छ ।











