काठमाडाैँ । नेपालको नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडसँग सम्बन्धित अन्तर्राष्ट्रिय काउन्टर ग्यारेन्टी विवादमा चिनियाँ अदालतबाट अन्तिम सफलता हासिल गरेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला सुनाएसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६ अमेरिकी डलर बराबरको रकम नबिल बैंकले प्राप्त गरेको जनाएको छ ।
यो विवाद त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको ठेक्का रद्दसँग सम्बन्धित रहेको छ । आयोजनाको निर्माण जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि त्रिशूली जलविद्युत् कम्पनीले ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो । उक्त ग्यारेन्टीको काउन्टर ग्यारेन्टी चाइना एभरब्राइट बैंकको छेन्दु शाखाबाट जारी गरिएको थियो ।
ठेक्का रद्द भएपछि नबिल बैंकले आफ्नो दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई ग्यारेन्टी रकम भुक्तानी गरिसकेको भए पनि चाइना एभरब्राइट बैंकले काउन्टर ग्यारेन्टी भुक्तानी गर्न अस्वीकार गरेको थियो । यसपछि नबिल बैंकले कानुनी उपचारका लागि चिनियाँ अदालतको शरण लिएको थियो ।
सन् २०२४ जनवरीमा चिनियाँ अदालतले नबिल बैंकको पक्षमा फैसला सुनाए पनि निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपले सो निर्णयविरुद्ध पुनरावेदन दिएको थियो । लामो कानुनी प्रक्रियापछि सन् २०२५ सेप्टेम्बर २३ मा चोङछिङ हाइयर पिपुल्स अदालतले पनि नबिल बैंककै पक्षमा अन्तिम फैसला सुनाउँदै काउन्टर ग्यारेन्टी भुक्तानी गर्न आदेश दिएको हो ।
त्रिशूली जलविद्युत् कम्पनी र सुइफा एएनएचई ग्रुपबीच २०७४ फागुन ३० गते ठेक्का सम्झौता भएको थियो । तर निर्माण कार्य समयमै सम्पन्न नहुँदा २०८० मङ्सिर ३० गते सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरिएको थियो ।
बैंकिङ क्षेत्रका विज्ञहरूका अनुसार यो फैसला नबिल बैंकका लागि मात्र होइन, अन्तर्राष्ट्रिय आयोजनामा संलग्न नेपाली बैंकहरूको जोखिम व्यवस्थापन र कानुनी क्षमताको दृष्टिले पनि महत्वपूर्ण उपलब्धि हो । यसले भविष्यमा अन्तर्राष्ट्रिय काउन्टर ग्यारेन्टी र सीमा पार बैंकिङ कारोबारमा नेपाली बैंकहरूको विश्वासनीयता थप मजबुत हुने अपेक्षा गरिएको छ ।








