काठमाडाैँ । सुपर खुदी हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूकाे लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पुस २२ गतेदेखि शेयर जारी गर्न लागेकाे हाे ।
कम्पनीले हाल कायम जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । यसमध्ये, १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको छ । यो शेयरमध्ये ४० प्रतिशत ६ लाख २० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानिय बासिन्दामा वितरण गरिनेछ भने बाँकी ६० प्रतिशत ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानिय बासिन्दामा वितरण गरिनेछ ।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी हुनेछ । आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजन प्रभावित क्षेत्रका लागि आवेदन प्रक्रिया माघ ६ गतेदेखि २१ गतेसम्म हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पुस २५ गतेदेखि माघ ६ गतेसम्म खुला रहनेछ ।
आईपीओको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम स्तरमा कम्पनीको दायित्व बहन गर्ने क्षमता रहेको संकेत गर्दछ ।
कम्पनीको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत २ करोड ६ लाख रुपैयाँ रहेको छ । यस आयोजनाको विद्युत अनुमतिपत्र २७ वर्ष ५ महिना बाँकी रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष अनुमान गरिएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक (बेसीशहर शाखा) र हिमालयन बैंक (भुलभुले शाखा) बाट आवेदन दिन सक्नेछन् । दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क लाग्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सी(आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।











