Tuesday, April 21, 2026
spot_img

डि-कार्बोनाइजेसनलाई व्यवहारमा उतार्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाइँदै

spot_img

Share

spot_img

काठमाडाैँ । पृथ्वी, मानव तथा सम्पूर्ण प्राणी जगतको हितका लागि स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरण प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघले सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ का रूपमा मनाउँदै आएको छ । यो दिवस विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ।

नेपालमा यो दिवस वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) ले मनाउँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको केन्द्र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा कार्य गर्ने प्रमुख सरकारी निकाय हो ।

यसै सन्दर्भमा केन्द्रले ऊर्जा क्षेत्रका साझेदार संस्थाहरूको सहकार्यमा मिति २०८२ माघ १३ गते (जनवरी २७, २०२६) ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । यो सम्मेलन गत वर्ष सम्पन्न ‘उत्थानशील एवं न्यून–कार्बन अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरण’ सम्बन्धी सम्मेलनको निरन्तरता हो ।

तर, यस वर्षको सम्मेलनले न्यून कार्बनीकरण (Decarbonization) को व्यवहारिक कार्यान्वयनमा जोड दिँदै ‘बहसबाट व्यवहारमा रुपान्तरण (Shift from Dialogue to Action)’ भन्ने अवधारणा अगाडि सारेको छ ।

सम्मेलनबारे जानकारी दिन केन्द्रले माघ १२ गते ताहाचलस्थित कार्यालयमा गरेकाे पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्मेलनले डि–कार्बोनाइजेसनलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

केन्द्रका निर्देशक डा. मुकेश घिमिरेले ‘ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरणको अवस्था र त्यसमा केन्द्रको भूमिका’ विषयमा प्रस्तुतीकरण गरेका थिए । सञ्चारमाध्यम र निजी क्षेत्रका प्रतिनिधिहरूले केन्द्रका उपलब्धीको व्यापक प्रचार, प्रविधिको गुणस्तर र दीगोपनामा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

सम्मेलनमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, कार्बन बजार, ई–मोबिलिटी र वित्तीय लगानीमार्फत अर्थतन्त्रको न्यून कार्बनीकरण कसरी तीव्र बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल हुनेछ । कार्यक्रममा स्वच्छ ऊर्जा र कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत न्यून कार्बनीकरण, स्वच्छ ऊर्जा र ई–मोबिलिटीमा लगानीमार्फत न्यून कार्बनीकरण सम्बन्धी विविध विषयमा अन्तरक्रिया हुनेछ ।

३७ लाख घरधुरीमा स्वच्छ ऊर्जा सेवा

    केन्द्रका अनुसार स्थापना कालदेखि हालसम्म करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको पहुँच पुगेको छ । देशको कुल विद्युत पहुँचमा नवीकरणीय ऊर्जाको योगदान करिब ६ प्रतिशत पुगेको छ ।

    केन्द्रले लघु तथा साना जलविद्युत्, सौर्य विद्युत् प्रणाली, सौर्य मिनिग्रिड, बायोग्यास, विद्युतीय चुलो, सुधारिएको चुलो, सौर्य रुफटप, सौर्य पम्प, सौर्य सडक बत्ती लगायतका हजारौँ परियोजना कार्यान्वयन गरेको छ। नवीकरणीय ऊर्जा क्षेत्रमा ५०० भन्दा बढी कम्पनी सक्रिय छन्, जसबाट ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ ।

    कार्बन व्यापार र जलवायु वित्त

    केन्द्र सन् २००५ देखि कार्बन व्यापारमा संलग्न हुँदै आएको छ । स्वच्छ विकास संयन्त्र अन्तर्गतका ८ आयोजनाबाट हालसम्म ६६ लाख ८० हजार मेट्रिक टन कार्बन उत्सर्जन न्यूनीकरण गरी करिब ३६ मिलियन अमेरिकी डलर आम्दानी भएको छ । केन्द्र ग्रीन क्लाइमेट फण्ड (GCF) बाट मान्यता प्राप्त प्रत्यक्ष पहुँच निकायसमेत हो ।

    ऊर्जा क्षेत्र नै उत्सर्जनको मुख्य स्रोत

    अन्तर्राष्ट्रिय अध्ययनअनुसार विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमध्ये करिब ७६ प्रतिशत ऊर्जा क्षेत्रबाट हुने गरेको छ । आइपिसिसीको २०२३ प्रतिवेदनले तापक्रम वृद्धिलाई १.५ देखि २ डिग्री सेल्सियसभित्र सीमित राख्न डि–कार्बोनाइजेसन अपरिहार्य रहेको औँल्याएको छ । ऊर्जा क्षेत्रमा डि–कार्बोनाइजेसनका मुख्य उपायका रूपमा: इन्धन रुपान्तरण (Fuel Switching), विद्युत् ग्रिडको सबलीकरण, ऊर्जा दक्षतालाई अघि सारिएको छ ।

    सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको प्रवर्द्धनका लागि ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक’ अघि बढाएको छ । केन्द्रले यसलाई छिट्टै ऐनको रूपमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

    केन्द्रकाे प्रेस नाेट

    संयुक्त राष्ट्रसंघले “पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने” उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष  जनवरी २६ तारिखलाई “अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस (International Day of Clean Energy)” को रुपमा मनाउँदै आएको छ । यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरिन्छ । नेपालमा यो दिवस मनाउने कार्य वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्दै आएको छ ।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा कार्य गर्ने प्रमुख निकायको रुपमा रहेको छ । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको छ । यसको साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकाय (Direct Access Entity) को रुपमा समेत कार्य गर्दै आएको छ ।

    यसै सन्दर्भमा केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा मिति २०८२/१०/१३ (सन् २०२६ जनवरी २७) मा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन” आयोजना गर्न लागेको हो । स्वच्छ ऊर्जा तथा जलवायु परिवर्तन सम्बन्धी लक्ष्यमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रम गत वर्ष आयोजना गरिएको”उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन” को निरन्तरता पनि हो तथापी यस वर्षको सम्मेलनले न्यून कार्बनीकरण (Decarbonization) को व्यवहारिक पक्षमा जोड दिंदै “बहसलाई व्यवहारमा रुपान्तरण गर्ने (Shift from dialogue to action)” उद्देश्य लिएको छ ।

    सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता  एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी/गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक/प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरु, यस क्षेत्रका अभ्यासकर्ता (Practitioners), निजी क्षेत्र, सञ्‍चार जगत, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै मञ्चमा उपस्थित भई स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रको विकासमा तिव्रता दिनको लागि रणनीतिक दृष्टिकोण सम्बन्धी छलफल/अन्तर्क्रिया गर्ने अवसर जुटाउनेछ ।

    एकदिने सम्मेलनलाई उद्‍घाटन समारोह र प्रावधिक सत्र गरी दुइ चरणमा विभाजन गरिएको छ । माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हाको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रमको उद्‍घाटन समारोहमा स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास”सम्बन्धी प्रस्तुतीकरण, “दिगो ऊर्जा च्यालेञ्ज फण्डको उपलब्धी” सम्बन्धी पुस्तक विमोचन, सो सम्बन्धमा केन्द्रका कार्यकारी निर्देशकज्यूको प्रस्तुतीकरण एवं नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको मन्तव्य समेटिएको छ भने कार्यक्रमको दोस्रो चरणमा निम्न विषयवस्तुमा आधारित रहेको ३ वटा प्राविधिक सत्र (Technical Session) सञ्चालन गरिनेछ । (१) स्वच्छ ऊर्जा तथा कार्बन बजारको माध्यमबाट न्यून कार्बनीकरण सम्बन्धी पहल (Decarbonization Initiative through Clean Energy and Carbon Markets) (२) ऊर्जा दक्षताको माध्यमबाट न्यून कार्बनीकरण (Decarbonization through Energy Efficiency) र (३) न्यून कार्बनीकरणको लागि स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ-मोबिलिटी) मा लगानी (Financing for Decarbonization in Clean Energy and E-Mobility) ।

    यस सम्मेलनका दौरान (सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुतीकरण एवं छलफलबाट) अर्थतन्त्रको न्यून कार्बनीकरणका अवसर तथा चुनौतिहरु एवं मिश्रित लगानीबाट लिन सकिने लाभको पहिचान गर्न सहयोग पुग्नेछ ।त्यसैगरी सम्मेलनबाट स्वच्छ ऊर्जा क्षेत्रको लगानीलाई स्तरोन्नति गर्दै विकास साझेदारहरुबीचको सहकार्य थप बलियो हुने अपेक्षा गरिएको छ ।

    सम्मेलनका प्रमुख उद्देश्यहरु निम्न बमोजिम रहेका छन् :

    • देशको न्यून कार्बनीकरणका प्राथमिकता सम्बन्धमा बहस/छलफल
    • लगानी संयन्त्रको पहिचान
    • कार्बन बजारको माध्यमबाट न्यून कार्बनीकरणका अवसरहरुको पहिचान
    • सरोकारवालाहरुबीचको समन्वय र साझेदारीलाई बलियो बनाउने

    स्वच्छ ऊर्जा र इ-मोबिलिटी, ऊर्जा दक्षता र न्यून कार्बनीकरण एवं वित्तिय लगानी र कार्बन बजार सम्मेलनको मुख्य विषय रहनेछ ।

    केन्द्रको स्थापनाकालदेखि आ.व. २०८२/८३ को पौष मसान्त सम्मको समग्र भौतिक प्रगति विवरणलाई हेर्दा ४०,७१७ किलोवाट लघु तथा साना जलविद्युत आयोजना; ११,१०४ सुधारिएको पानीघट्ट जडान; १०,००,७८९ वटा घरेलु सौर्य विद्युत प्रणाली; ४,५४० वटा संस्थागत सौर्य विद्युत प्रणाली ; ३,५९३ किलोवाट पिक सौर्य मिनिग्रीड रु सौर्य वायु मिनिग्रीड जडान; ३६,४२९ किलोवाट पिक सौर्य रुफटप; 2,464 वटा सौर्य ड्रायर तथा कुकर जडान; ४,४५२ वटा सौर्य खानेपानी तथा सिंचाइ पम्प;  1,56,531 वटा फलामे सुधारिएको चुलो ; ३३ वटा संस्थागत ग्यासिफायर;  146,598 वटा विद्युतीय चुलो; 4,56,७६६ वटा घरायसी बायोग्यास; 14,23,242 वटा सुधारिएको माटोको चुलो; ३७८ वटा संस्थागत, शहरी तथा व्यवसायिक वायोग्यास; १७६६ वटा ऊर्जाको उत्पादनमूलक परिप्रयोग; ३,३०९ वटा सौर्य सडक वत्ती र ४,८६५ वटा मठ, मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा प्रणाली जडान सम्पन्न भएका छन् ।

    केन्द्रले हालसम्म समग्रमा देशको करीब ३७ लाख  घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्‍याएको छ । कूल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ६ प्रतिशत रहेको छ । विद्युत पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिंदै आएको छ ।नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४० हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ ।

    साथै केन्द्रले सन् २००५ देखि नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन व्यापार सम्बन्धी कार्यको थालनी गरेको हो ।केन्द्रले स्वच्छ विकास संयन्त्र अन्तर्गत ८ वटा आयोजनाहरुबाट हालसम्म कूल ६६ लाख ८० हजार मेट्रिक टन युनिट प्रमाणित कार्बन उत्सर्जन न्यूनीकरण उत्पादन गरी ‍‍‍‍‍कार्बन व्यापार मार्फत करीब ३६.०११ मिलियन अमेरिकी डलर आम्दानी गरेको छ भने यी कार्बन परियोजनाको सञ्चालनबाट  भविष्यमा थप आम्दानी हुने सुनिश्चित गरेको छ ।

    स्वच्छ ऊर्जाको माध्यमबाट नेपालको न्यून कार्बन विकास, सामाजिक आर्थिक समुन्नति र हरित अर्थतन्त्र विकासमा केन्द्रको महत्वपूर्ण योगदान रहँदै आएको छ ।सरकारले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणका कार्यहरुलाई अघि बढाउन बलियो कानूनी आधार खडा गर्ने उद्देश्यका साथ “नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” अघि बढाएको छ ।

    विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वको रुपमा रहेको हरितगृह ग्यास/कार्बन उत्सर्जन सम्बन्धी अन्तर्राष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कूल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करीब ७६   प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तर्राष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दा जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संस्था (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, आइपिसिसि) को प्रतिवेदन, २०२३ अनसार तापमानलाई १.५ डिग्री सेल्सियस र २ डिग्री सेल्सियसको बीचमा सिमित राख्‍नको लागि हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरणका उपायहरुलाई थप प्रभावकारी बनाउनु जरुरी देखिन्छ ।

    विश्वव्यापी रुपमा खुद शुन्य हरितगृह ग्यास उत्सर्जनको अवस्था हेर्दा सन् २०१९ को उत्सर्जन सन् २०१० को भन्दा १२ प्रतिशतले वृद्धि भएको पाइन्छ ।हरितगृह ग्यास उत्सर्जनका सबै क्षेत्रबाट उत्सर्जन न्यूनीकरणलाई उच्च प्रभावकारिताका साथ अवलम्बन गरेर मात्र खुद शुन्य कार्बन उत्सर्जन वा खुद शुन्य हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको लक्ष्य हासिल गर्न सकिन्छ ।तसर्थ विश्व तापमान वृद्धिले खतराको सीमा पार गर्नु अगावै यसको उचित नियन्त्रण गर्न तत्काल हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण सम्बन्धी कार्यहरुलाई द्रुत्ततर एवं गम्भीर ढंगले अघि बढाउनु अपरिहार्य देखिन्छ ।

    ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरण वा “डिकार्बनाइजेसन” भन्नाले ऊर्जाको उत्पादन, वितरण तथा उपभोगबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्दै अन्तत: पूर्ण रुपमा हटाउने प्रक्रियालाई बुझिन्छ ।ऊर्जा क्षेत्रमा डिकार्बनाइजेसनका मुख्यतया ३ वटा उपायहरु रहेका छन् : (१) इन्धन रुपान्तरण (फ्युल स्वीचिङ्ग), (२) राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण र (३) ऊर्जा दक्षता । फ्युल स्वीचिङ्ग भनेको परम्परागत ऊर्जा र  खनिज इन्धनबाट सञ्चालित प्रविधिहरु (सवारी साधन, मेशिनरी, घरायसी उपकरण विशेष गरी खाना पकाउने प्रविधि) लाई स्वच्छ ऊर्जाबाट सञ्चालन गर्नु हो ।फ्युल स्वीचिङ्गका प्रमुख क्षेत्रहरुमा घरायसी, यातायात, उद्योग र कृषि रहेका छन् । राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण भनेको मौसमी सन्तुलन, आयात न्यूनीकरण, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति, विद्युतीय पूर्वाधारहरुको स्तरोन्नतिको माध्यमबाट ग्रिडलाई हरितगृह ग्यास उत्सर्जन मुक्त बनाउनु हो । अर्थात् हामीले उपयोग गर्ने (स्वदेशमै उत्पादित विद्युत वा आयात गरिएको) विद्युत परम्परागत खनिज इन्धनमा आधारित नभई शुन्य कार्बन स्रोत जस्तै सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोतमा आधारित रहेको सुनिश्चितता गर्नु हो । ऊर्जा दक्षता भनेको ऊर्जा दक्ष उपकरण, ग्रिड र औद्योगिक मेशिनरीको उपयोगबाट कुनै वस्तु वा सेवाको उत्पादनमा लाग्ने ऊर्जाको परिमाणलाई कम गर्नु हो ।

    नेपालले राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुमा डिकार्बनाइजेसनलाई प्राथमिकतामा राखेको छ ।तेस्रो राष्ट्रिय निर्धारित योगदान, दिगो विकास लक्ष्य, खुद शुन्य उत्सर्जन सम्बन्धी नेपालको दीर्घकालीन रणनीति,  सोह्रौं योजना, ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ लगायतका दस्तावेजहरुमा डिकार्बनाइजेसन सम्बन्धी लक्ष्यहरु समेटिएका छन् ।

    उपरोक्त कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आज मिति २०८२/१०/१२ मा केन्द्रको कार्यालय, ताहाचलमा पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो । अन्तर्क्रिया कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्मेलनले न्यून कार्बनीकरण (Decarbonization) को व्यवहारिक पक्षमा जोड दिंदै “बहसलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने”  बताउनुभयो ।साथै उहाँले केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा हासिल गरेका उपलब्धीहरुले न्यून कार्बनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै केन्द्रले यस क्षेत्रमा हासिल गरेका उपलब्धीहरुलाई संस्थागत गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ऐनको रुप दिने कार्यलाई निर्वाचित संसद आउने बित्तिकै अघि बढाइने बताउनुभयो । कार्यक्रममा केन्द्रका निर्देशक डा. मुकेश घिमिरेले “ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरणको अवस्था र न्यून कार्बनीकरणमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका” विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । अन्तर्क्रिया कार्यक्रममा विभिन्न सञ्चार माध्यम र नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यररत निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा सञ्चारमाध्यम तथा निजी क्षेत्रका प्रतिनिधिहरुले केन्द्रले गरेका उपलब्धीहरुको व्यापक प्रचार प्रसार गर्नुपर्ने, केन्द्रद्वारा प्रवर्द्धन गरिएका कार्यक्रम तथा आयोजनाहरुको दिगोपनामा जोड दिनुपर्ने, प्रविधिको गुणस्तर तथा जडानपछिको मर्मतसम्भारमा ध्यान दिनुपर्ने लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।

    spot_img
    ऊर्जा संचार
    ऊर्जा संचारhttp://www.urjasanchar.com
    यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
    spot_img

    सम्बन्धित समाचार

    spot_img
    spot_img

    सम्बन्धित समाचार

    spot_img