काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण प्रक्रिया अघि बढाइएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत आज माघ १६ गतेदेखि १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण थालिएको छ । परीक्षण सफल भएपछि प्रसारण लाइनलाई राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने उनले जानकारी दिए ।
परीक्षण अवधि तथा त्यसपश्चात् प्रसारण लाइन सञ्चालनमा आउने भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले आम नागरिकलाई आग्रह गरेको छ । टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तु तथा बालबालिकालाई टावर नजिक जान नदिन र खतराका संकेत देखाइएका विद्युत् संरचनाबाट टाढा रहन अनुरोध गरिएको छ ।
परीक्षणका क्रममा कतै झिल्का देखिएमा वा कुनै किसिमको खतरा महसुस भएमा नेपाल विद्युत् प्राधिकरण वा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।








