काठमाडाैँ । एसियाली विकास बैंक (एडीबी) ले दक्षिण एसिया विभाग (सार्ड) को महानिर्देशकमा सोना श्रेष्ठलाई नियुक्त गरेको छ । उक्त विभागअन्तर्गत बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमको विकास र कार्यान्वयनको नेतृत्व अब श्रेष्ठले गर्नेछिन् ।
नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको नेतृत्व गर्न पाउँदा गौरव महसुस भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गरी समावेशी तथा दिगो विकासका लागि एडीबीको संलग्नता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
श्रेष्ठ २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव भएकी विकास विज्ञ हुन्, जसमा २३ वर्षको अनुभव एडीबीमै हासिल गरेकी छन् । यसअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशकका रूपमा कार्यरत थिइन् ।
उनले एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागमा उपमहानिर्देशक, सहायक सचिव, दक्षिणपूर्वी एसियाको वित्तीय क्षेत्र तथा व्यापार महाशाखामा निर्देशक तथा इन्डोनेसियाकी उपदेश निर्देशकका रूपमा समेत जिम्मेवारी सम्हालेकी थिइन् । एडीबीमा प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा सञ्चालन अनुभव हासिल गरेकी छन् ।
नेपालकी नागरिक श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) र स्नातकोत्तर उपाधि प्राप्त गरेकी छन् । उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक उपाधि हासिल गरेकी हुन् ।
सन् १९६६ मा स्थापना भएको एडीबी एसिया तथा प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो आर्थिक विकासलाई सहयोग गर्ने अग्रणी बहुपक्षीय विकास बैंक हो । एडीबीका ६९ सदस्य राष्ट्रमध्ये ५० राष्ट्र क्षेत्रीय सदस्य रहेका छन् । बैंकले नवीन वित्तीय साधन र रणनीतिक साझेदारीमार्फत सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै पूर्वाधार विकास, दिगो आर्थिक वृद्धिलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ।








