काठमाडाैँ । कालिन्चोक हाइड्रो पावर लिमिटेडले फागुन १३ गतेदेखि शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरका ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीयले उक्त शेयरका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, सर्वसाधारण समूहअन्तर्गत छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँ बराबरका ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ । सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दाका लागि निष्काशन अवधि छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गतेसम्म रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले पाएको छ । कम्पनीद्वारा सञ्चालित ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना निर्माण लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।








