Wednesday, July 29, 2026
spot_img

उज्यालोका अदृश्य नायक: पहाडभित्र खटिने भूगर्भविद्

spot_img

Share

spot_img

हरेक बिहान उठ्नेबित्तिकै हामी बत्ती बाल्छौँ । मोबाइल चार्ज गर्छौँ, टेलिभिजन हेर्छौँ, कम्प्युटर चलाउँछौँ र विभिन्न विद्युतीय उपकरण प्रयोग गर्छौँ । आजको जीवन बिजुलीबिना कल्पना गर्नै गाह्रो छ । तर हामीले सहज रूपमा प्रयोग गरिरहेको यो बिजुली उत्पादन गर्न कति मानिसको मेहनत लागेको हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन ।

नेपालमा उत्पादन हुने धेरैजसो बिजुली नदीको पानीबाट उत्पादन गरिन्छ । नदीको पानीलाई पहाडभित्र बनाइएको सुरुङबाट बगाएर टर्वाइन घुमाइन्छ र त्यसबाट बिजुली उत्पादन हुन्छ । जब हामी ‘सुरुङ’ भन्ने शब्द सुन्छौँ, धेरैको मनमा एक्स्काभेटर, ड्रिल मेसिन, विस्फोट वा इन्जिनियरको चित्र आउँछ । तर सुरुङ सुरक्षित रूपमा निर्माण गर्न एउटा यस्तो व्यक्ति पनि निरन्तर काम गरिरहेको हुन्छ, जसको चर्चा धेरै कम हुन्छा। त्यो व्यक्ति हो—भूगर्भविद् (Geologist) ।

भूगर्भविद्को काम पहाडभित्र लुकेको चट्टानको अवस्था बुझ्नु हो । सुरुङ बन्ने ठाउँको चट्टान बलियो छ कि कमजोर, कतै ठूलो चिरा छ कि छैन, कतै धेरै पानी निस्कने सम्भावना छ कि छैन, वा कतै ढुंगा खस्ने जोखिम त छैन भन्ने कुराको अध्ययन उनीहरूले गर्छन् । बाहिरबाट हेर्दा सबै पहाड उस्तै देखिन सक्छन्, तर भित्रको अवस्था भने धेरै फरक हुन्छ । कुनै ठाउँको चट्टान निकै बलियो हुन्छ भने अर्को ठाउँको चट्टान अत्यन्त कमजोर हुन सक्छ । यदि यस्तो अवस्था समयमै थाहा भएन भने सुरुङ निर्माणमा ढिलाइ हुन सक्छ, लागत बढ्न सक्छ र दुर्घटनाको जोखिम पनि बढ्न सक्छ ।

यही कारणले भूगर्भविद् सुरुङ निर्माणको प्रत्येक चरणमा सक्रिय हुन्छन् । उनीहरूले चट्टानको अवस्था अध्ययन गरी इन्जिनियरलाई आवश्यक जानकारी उपलब्ध गराउँछन् । त्यसपछि त्यही जानकारीका आधारमा सुरुङलाई कसरी सुरक्षित बनाउने भन्ने निर्णय गरिन्छ । यसले निर्माण कार्यलाई सुरक्षित, छिटो र गुणस्तरीय बनाउन मद्दत गर्छ ।

जलविद्युत् आयोजना सफल बनाउन इन्जिनियर, प्राविधिक, कामदार, मेसिन चालक र व्यवस्थापन टोली सबैको महत्त्वपूर्ण योगदान हुन्छ । तर यी सबैले सुरक्षित रूपमा काम गर्न सकून् भनेर पहाडभित्रको वास्तविक अवस्था पहिचान गर्ने जिम्मेवारी भूगर्भविद्को हुन्छ । त्यसैले उनीहरूको भूमिका अरूभन्दा कम महत्त्वपूर्ण छैन ।

नेपालमा अहिले धेरै जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी आयोजनाले देशको ऊर्जा उत्पादन बढाउने, उद्योग सञ्चालनमा सहयोग गर्ने र आर्थिक विकासलाई गति दिने अपेक्षा गरिएको छ । तर यी सबै आयोजना सफल हुन सुरक्षित सुरुङ आवश्यक हुन्छ, र सुरक्षित सुरुङको आधार सही भूगर्भीय अध्ययन हो ।

हामीले घरमा बत्ती बाल्दा वा मोबाइल चार्ज गर्दा त्यो केवल बिजुलीको प्रयोग मात्र होइन, हजारौँ मानिसको मेहनतको परिणाम पनि हो । ती मेहनती हातहरूमध्ये एक हुन् भूगर्भविद्, जसले पहाडभित्र लुकेका जोखिम पहिचान गरेर सुरक्षित सुरुङ निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छन् ।

त्यसैले अर्को पटक बत्तीको स्विच थिच्दा एकछिन ती व्यक्तिहरूलाई पनि सम्झनुहोस्, जो आफू उज्यालोमा नदेखिए पनि हाम्रो घर उज्यालो बनाउन पहाडभित्र दिनरात खटिरहेका हुन्छन् । उनीहरूको ज्ञान, अनुभव र मेहनतले नै सुरक्षित सुरुङ बन्छ, र त्यही सुरुङबाट बगेको पानीले हाम्रो घरसम्म उज्यालो ल्याउँछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img