काठमाडौँ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको प्राधिकरण बागलुङ वितरण केन्द्रले अत्यन्त दुर्गम क्षेत्रमा रहेको ढोरपाटन शिकार आरक्षमा पहिलो पटक राष्ट्रिय ग्रिडको विद्युत् सेवा विस्तार गरेको छ ।
बुर्तिबाङ बजारबाट करिब ३५ किलोमिटर लामाे ११ केभी क्षमताको विद्युत् लाइन विस्तार गरी ढोरपाटन क्षेत्रसम्म केन्द्रीय लाइन पुर्याइएको प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख दिलिप मरासिनिले बताए । उनका अनुसार करिब १५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त लाइन सफलापूर्वक परीक्षणपछि सञ्चालनमा ल्याइएको हो ।
‘यो लाइन विस्तारसँगै ढोरपाटन शिकार आरक्ष आसपासका निसेलढोर, देउरालीलगायत क्षेत्र र प्रस्तावित उत्तरगंगा जलविद्युत आयोजनालाई समेत समेट्ने गरी विद्युत पूर्वाधार तयार गरिएको छ,’ उनले भने, ‘राष्ट्रिय ग्रिडको लाइन विस्तार भएसँगै त्यस क्षेत्रका करिब ३ हजार ५ सय उपभोक्ता लाभान्वित भएका छन् ।’
हालसम्म ती क्षेत्रमा केन्द्रीय लाइन नपुगेकाले स्थानीयले लघुविद्युत् वा सीमित वैकल्पिक स्रोतको भरमा अत्यन्त कमजोर विद्युत् सेवा प्रयोग गर्दै आएका थिए । प्राधिकरणका अनुसार अब स्थानीय बासिन्दाले मिटरका लागि आवेदन दिएपछि क्रमशः मिटर वितरण गरी घरघरमा विद्युत् आपूर्ति सुरु गरिनेछ ।
ढोरपाटन क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ ट्रेकिङ मार्ग, विदेशी शिकारी पर्यटकका लागि खुला रहेको शिकार आरक्ष, नेपाली सेनाको ब्यारेक, नेपाल टेलिकमका टावर तथा सिकार आरक्षका क्याम्पहरू रहेका छन् । राष्ट्रिय ग्रिड पुगेपछि पर्यटन गतिविधि, होटल व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यससँगै ढोरपाटन नगरपालिकाका सबै वडामा राष्ट्रिय ग्रिडको विद्युत पहुँच पुगेको मरासिनिले जानकारी दिए ।
यसैगरी, केन्द्रले लाइन चार्ज भइसकेपछि विद्युत् संरचनाको सुरक्षामा ध्यान दिन स्थानीयलाई आग्रह गरेको छ । प्राधिकरणले बुर्तिबाङ फिडरअन्तर्गत ढोरपाटन क्षेत्रतर्फको ११ केभी प्रसारण लाइन मिति २०८२ फागुन २८ गतेदेखि चार्ज गरिएको जानकारी दिँदै पोल, तार, स्टे र ट्रान्सफर्मर नजिक नजान तथा संरचना वरिपरि पशु–चौपाया नबाँध्न अनुरोध गरेको छ ।
साथै, लाइन वरिपरि प्राधिकरणसँग समन्वय नगरी रुखबिरुवा कटान नगर्न पनि आग्रह गरिएको छ । लाइनमा आगोको झिल्का देखिएमा, ठूलो आवाज आएमा वा अन्य जोखिम देखिएमा तुरुन्तै प्राधिकरणमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।








