काठमाडाैँ । बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेड आईपीओ खुला भएकाे छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे ।
कम्पनीले २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड ४० लाख रुपैयाँबराबरको १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे हो ।
सोमध्ये ५ लाख २० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३ लाख १२ हजार कित्ता सुलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दा र २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख रुपैयाँबराबरको १ लाख ४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे छ ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूले छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ । कम्पनीकाे १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजना सञ्चालनमा रहेकाे छ ।








