काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले “ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान” विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम आज (जेठ २० गते) अपराह्न ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ ।
कार्यक्रममा इप्पानको संस्थागत सुदृढीकरण, नेतृत्व प्रणालीमा सुधार, ऊर्जा क्षेत्रको विकास तथा २४औँ वार्षिक साधारणसभाको एजेन्डामा रहेको विधान संशोधन प्रस्तावबारे व्यापक छलफल हुने जनाइएको छ । आयोजकका अनुसार जलविद्युत् क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका व्यवसायी, लगानीकर्ता, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ ।
भेलाको मुख्य उद्देश्य विधान संशोधन सम्बन्धमा ऊर्जा उद्यमीहरूबाट राय–सुझाव संकलन गरी आगामी निर्वाचन र नेतृत्व निर्माणसम्बन्धी रणनीति तय गर्नु रहेको बताइएको छ । संस्थाभित्र देखिएका व्यवस्थापकीय चुनौती, नेतृत्व विकासका अवसर तथा सुधारका आवश्यकताबारे समेत कार्यक्रममा गहन छलफल हुने जनाइएको छ ।
आयोजकका अनुसार हालको विधानअनुसार इप्पानको अध्यक्ष बन्न सदस्यले कार्यसमितिमा प्रवेश गरेपछि विभिन्न पदाधिकारी हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुग्न करिब ९ वर्षको यात्रा पूरा गर्नुपर्ने व्यवस्था छ । उक्त प्रावधानले नेतृत्वमा सीमित समूहको प्रभाव कायम रहने तथा नयाँ पुस्ताका व्यवसायीहरूको अवसर संकुचित हुने भन्दै दुईतिहाइभन्दा बढी सदस्यहरूको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको दाबी गरिएको छ ।
कार्यक्रमको आयोजना विधान संशोधन तथा नेतृत्व प्रणालीमा परिवर्तनको पक्षमा रहेको समूहले गरेको हो । उक्त समूहमा वर्तमान कार्यसमितिका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरतबहादुर खत्री, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपालसहित दुई दर्जनभन्दा बढी जलविद्युत् व्यवसायीहरू आबद्ध रहेको जनाइएको छ ।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी तथा पूर्वअध्यक्षहरू कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाईं, डा. सुवर्णदास श्रेष्ठ र डा. सन्दीप शाह लगायतको उपस्थिति रहने बताइएको छ ।
आयोजकका अनुसार कार्यक्रमले ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै इप्पानलाई थप संगठित, लोकतान्त्रिक, पारदर्शी र एकताबद्ध बनाउने विषयमा छलफल गर्नेछ। साथै ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउने उपायहरूबारे समेत सुझाव संकलन गरिने जनाइएको छ ।
इप्पानले आफ्ना सदस्य, ऊर्जा व्यवसायी, पत्रकार तथा सरोकारवाला सबैलाई कार्यक्रममा सहभागी भई धारणा, सुझाव र प्रतिक्रिया दिन आग्रह गरेको छ ।








