Tuesday, July 21, 2026
spot_img

जलविद्युत्, प्रसारण लाइन र पूर्वाधार विकासमा इन्जिनियरको भूमिका महत्वपूर्ण

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङलाई केवल एउटा पेशा नभई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताए । उनले आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको उल्लेख गरे ।

६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्र निर्माणको यात्रामा इन्जिनियरहरूको योगदान अद्वितीय, अपरिहार्य र प्रेरणादायी रहेको धारणा राखे । मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन तथा सूचना प्रविधिलगायतका आधुनिक पूर्वाधारको विकासले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए ।

सरकारले जलविद्युत् उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणालीको आधुनिकीकरण, ऊर्जा सुरक्षाको सुनिश्चितता, नवीकरणीय ऊर्जा प्रवर्द्धन, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले अब विकास परियोजनाको सफलता बजेट खर्चका आधारमा मात्र नभई समयमै सम्पन्न हुने, लागतमा अनुशासन कायम गर्ने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने परिणामका आधारमा मूल्याङ्कन गरिने स्पष्ट यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता, पारदर्शिता र नवप्रवर्तनशील सोचको अपेक्षा गरिएको बताए ।

ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै उनले जलविद्युत् उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, क्षेत्रीय विद्युत् व्यापार, नवीकरणीय ऊर्जा विकास तथा आधुनिक प्रविधिको प्रयोगमा दक्ष इन्जिनियरहरूको भूमिका निर्णायक रहने विश्वास व्यक्त गरे ।

पूर्वाधार विकासलाई कङ्क्रिट र स्टिलको संरचनामा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वाधारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र नागरिकको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउने बताए । ‘एउटा उत्कृष्ट डिजाइन, गुणस्तरीय निर्माण र जिम्मेवार प्राविधिक निर्णयले लाखौँ नागरिकको भविष्य परिवर्तन गर्न सक्छ, ‘ उनको भनाइ छ ।

इन्जिनियरहरूलाई व्यावसायिक इमान्दारीता, प्राविधिक उत्कृष्टता, सार्वजनिक उत्तरदायित्व र गुणस्तरप्रतिको प्रतिबद्धतालाई कार्यसंस्कृतिको आधार बनाउन आग्रह गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै नवप्रवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले हरेक पुलले केवल दुई किनारा मात्र नभई विश्वास जोड्ने, सडकले दूरी मात्र घटाउने नभई विकासको ढोका खोल्ने र विद्युतले बत्ती मात्र नभई उद्योग, रोजगारी तथा समृद्धिको सम्भावनालाई उज्यालो बनाउने उल्लेख गर्दै इन्जिनियरहरूको योगदान दीर्घकालीन राष्ट्रिय विकाससँग प्रत्यक्ष जोडिएको बताए ।

मन्त्री श्रेष्ठले सरकारले नीति निर्माण गर्ने भए पनि त्यसलाई नागरिकको जीवनमा सकारात्मक परिवर्तनका रूपमा कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी इन्जिनियरहरूको हुने उल्लेख गर्दै भविष्यले संरचनाको सङ्ख्या होइन, ती संरचनाले समाज र भावी पुस्ताको जीवनमा पारेको प्रभावका आधारमा मूल्याङ्कन गर्ने धारणा व्यक्त गरे । उनले सम्पूर्ण नेपाली इन्जिनियरहरूलाई ६४औँ इन्जिनियर्स दिवसको शुभकामना व्यक्त गर्दै राष्ट्रको समृद्धिका लागि अझ समर्पित, उत्तरदायी र सिर्जनशील भएर काम गर्न समेत आह्वान गरे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img