काठमाडाैँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको १४औं दिनसम्म पनि क्षतिग्रस्त जलविद्युत आयोजना स्थलहरूबाट ९१९ जनाभन्दा बढी मानिसहरू अझै सम्पर्कविहीन रहेका छन् । नेपाली सेना, उद्धार टोली र प्रवर्द्धक कम्पनीहरूले ठूला उपकरण, ड्रोन र तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिएका छन् ।
भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा नुवाकोट क्षेत्रका सञ्चालनमा रहेका र निर्माणाधीन गरी १२ वटा जलविद्युत आयोजनाहरूमा व्यापक क्षति पुगेको छ । यस बाढीबाट कूल ६६९ मेगावाट विद्युत उत्पादन तथा निर्माण कार्य प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।
प्रभावितमध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका छन् भने ४ वटा निर्माणाधीन अवस्थामा छन् ।
आयोजना अनुसार सम्पर्कविहीन तथा अद्यावधिक विवरण
माथिल्लो त्रिशूली–१ (२१६ मे.वा.): अझै ५४८ जना सम्पर्कविहीन छन्, जसमा ९ कोरियन, ३४ चिनियाँ र ५० भारतीय नागरिक रहेका छन्। यहाँ कार्यरत १,४३३ जनामध्ये ८७८ जनाको सकुशल उद्धार गरिएको छ।
माथिल्लो त्रिशूली ३बी (३७ मे.वा.): सुरुमा १९१ जना हराइरहेको भनिए पनि फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि हाल १७८ जना हराइरहेका छन् । मुख्य सुरुङ SAF गरी ठूला एक्स्काभेटरहरू प्रयोग गरेर आवास क्षेत्र खन्ने काम भइरहेको छ ।
रसुवागढी (१११ मे.वा.): ९३ जना सम्पर्कविहीन छन् । सेना र पर्वतारोही शेर्पा टोलीले ५ दिनसम्म खोजी गर्दा कोही नभेटिएपछि सुरुङभित्रको खोजी स्थगित गरी टोली फर्किएको छ ।
लाङटाङ खोला (२० मे.वा.): ३९ जना अझै हराइरहेका छन् । सुरुङबाट २ जनाको शव निकालिएको छ भने १९ जनाको सकुशल उद्धार भइसकेको छ ।
माथिल्लो त्रिशूली ३ए (६० मे.वा.): ३९ जना कर्मचारी तथा कामदार अझै सम्पर्कविहीन छन् ।
चिलिमे (२२ मे.वा.): ६ जना फसेका/हराइरहेका छन् । पहुँच मार्ग ध्वस्त भएकाले पैदल र डोरीको सहायताले पहुँच सुरुङसम्म पुग्ने बाटो बनाई सफाई र सडक निर्माण कार्य भइरहेको छ ।
अन्य आयोजनाहरू: मैलुङ खोलाबाट ७ जना, त्रिशूली जलविद्युत केन्द्रबाट ३ जना र देवीघाट जलविद्युत केन्द्रबाट १ जना (सुरक्षागार्ड) सम्पर्कविहीन छन् ।
भौगोलिक जटिलता, लेदो माटो र पहुँच मार्ग पूर्ण रूपमा भत्किएका कारण कतिपय आयोजनामा भारी मेसिन पुर्याउन कठिन हुँदा उद्धार र खोजी कार्य प्रभावित भइरहेको छ ।











