Sunday, August 16, 2026
spot_img

५ र ४२ मेगावाटको सफलतापछि माउन्टेनको अर्को छलाङ, ६५ मेगावाटको दूधखोलामा वित्तीय व्यवस्थापन

spot_img

Share

spot_img

काठमाडाैँ । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी दूधखोला हाइड्रो पावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आयोजनामा लिड बैंकका रूपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंक (को–लिड) का रूपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । दुई बैंकले आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।

मनाङमा निर्माण हुने आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । यसअनुसार आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ८३ लाख रुपैयाँ पर्न आउँछ । प्रतिमेगावाट २० करोड रुपैयाँभन्दा कम लागतमा आयोजना निर्माण हुने भएकाले यसलाई तुलनात्मक रूपमा आकर्षक आयोजनाका रूपमा हेरिएको छ ।

आयोजनाको कुल लागतमध्ये बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब १ करोड रुपैयाँ ऋण लगानी हुनेछ भने बाँकी करिब २ अर्ब ८८ करोड रुपैयाँ प्रवर्द्धक कम्पनीले स्वपुँजीमार्फत लगानी गर्नेछ । वित्तीय व्यवस्थापन सम्पन्न भएपछि आयोजनाको निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भएको कम्पनीले जनाएको छ ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजना निर्माणको काम तत्काल अघि बढाउने तयारीमा कम्पनी रहेको छ । निर्माण सुरु गरेको तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

दूधखोला आयोजना निर्माण सम्पन्न भएपछि माउण्टेन इनर्जीको जलविद्युत् उत्पादन क्षमतामा उल्लेख्य वृद्धि हुनेछ । कम्पनीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाटको ताँदीखोला जलविद्युत् आयोजना बाट हाल नियमित रूपमा विद्युत् उत्पादन भइरहेको छ ।

यसरी ५ मेगावाटको ताँदीखोलाबाट सुरु भएको माउण्टेन इनर्जीको जलविद्युत् यात्रा ४२ मेगावाटको मिस्ट्रीखोलापछि अब ६५ मेगावाटको दूधखोलासम्म विस्तार हुँदैछ । दूधखोला आयोजना निर्माण सम्पन्न भएपछि कम्पनीको उत्पादन पोर्टफोलियोमा थप ६५ मेगावाट विद्युत् क्षमता जोडिनेछ ।

दूधखोला जलविद्युत् आयोजना मनाङ जिल्लामा निर्माण हुनेछ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । वित्तीय व्यवस्थापन सम्पन्न हुनु आयोजनाको निर्माण चरणमा प्रवेश गर्ने महत्वपूर्ण आधार भएकाले अब आयोजनाको निर्माण गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img