काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा बन्द गर्ने भएकाे छ । भोलि भदौ २९ गते बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको हाे ।
प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ के.भी. बसबार मर्मतसम्भारका लागि भोलि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ । मर्मतसम्भार कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने छ ।
प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।











