काठमाडाैँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेसीमा निर्माण सम्पन्न २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत करिब ६० जना कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका छन् । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरेको उक्त आयोजनामा बाढी पसेपछि कामदारहरू सम्पर्कविहीन भएका हुन् ।
कम्पनीका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार करिब ३५ जना कामदार सुरुङभित्र फसेका छन् । ‘सुरुङमा बाढी पसेपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन । खाना पकाउने कर्मचारी, इन्जिनियरलगायत थप करिब २५ जना कामदारसमेत सम्पर्कविहीन छन्’ उनले भने ।
‘कामदारहरूको ज्यान मात्र जोगाउन पाए पनि राम्रो हुन्थ्यो’ भन्दै उनले अहिले विद्युत् उत्पादनभन्दा पनि सुरुङभित्र फसेका तथा सम्पर्कविहीन कामदारहरूको सकुशल उद्धार नै सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् ।
आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गर्ने अन्तिम तयारीमा रहेको थियो । आगामी तीन दिनभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको अवस्थामा बाढीका कारण कामदारहरू सम्पर्कविहीन भएपछि उद्धारमा तत्काल पहल गरिरहेकाे पनि उनले बताए ।
भट्टराईले सुरुङभित्र फसेका तथा सम्पर्कविहीन कामदारको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनले विपद्को अवस्थालाई गम्भीर रूपमा लिएर उद्धार कार्यमा आवश्यक समन्वय र सहयोग गरिदिन आग्रह गरेका हुन् ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणको भूमिगत माथिल्लो त्रिशूली 3A जलविद्युत् गृहमा सञ्चालित Turbine Overhauling ( मर्मतसम्भार) मा कार्यरत करिब २ दर्जन कर्मचारीहरूको अवस्था अज्ञात रहेकाे जनाइएकाे छ ।











