Saturday, October 24, 2026
spot_img

पुरानो ब्याट्रीबाट स्वच्छ ऊर्जा भण्डारण, नेपालमा नयाँ प्रविधिको परीक्षण

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालमा नवीकरणीय ऊर्जाको उत्पादन तथा पहुँच विस्तार भइरहेका बेला प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त सिसा (लिड) प्रयोग गरी विद्युत् भण्डारण गर्न सकिने नयाँ प्रविधि भित्रिएको छ । घाम पावर नेपाल प्रालिले बेलायतस्थित युनिभर्सिटी अफ साउथह्याम्प्टनका अनुसन्धानकर्तासँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सोलुबल लिड–फ्लो ब्याट्री’ (SLFB) प्रविधि सार्वजनिक गरेको हो ।

घाम पावरले मा काठमाडौंमा आयोजना गरेको विशेष प्रेस मिटमा युनिभर्सिटी अफ साउथह्याम्प्टनका प्राध्यापक रिचर्ड विल्सले उक्त प्रविधिको निर्माण प्रक्रिया तथा कार्यप्रणालीबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । कार्यक्रममा पत्रकार, ऊर्जा क्षेत्रका प्रतिनिधि तथा स्वच्छ ऊर्जा क्षेत्रमा रुचि राख्ने सहभागीलाई ब्याट्रीको चार्ज तथा डिस्चार्ज प्रक्रिया अवलोकन गर्ने र अनुसन्धानकर्तासँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अवसर दिइएको थियो ।

सोलुबल लिड–फ्लो ब्याट्रीको मुख्य विशेषता प्रयोग भइसकेका वा कवाडी ब्याट्रीबाट लिड पुनःप्राप्त गरी त्यसलाई ऊर्जा भण्डारणको सामग्रीका रूपमा पुनःप्रयोग गर्नु हो । प्रदर्शनका क्रममा प्राध्यापक विल्सले ब्याट्री चार्ज हुँदा इलेक्ट्रोडमा लिड कसरी जम्मा हुन्छ र डिस्चार्जका क्रममा पुनः कसरी हट्छ भन्ने प्रक्रिया समेत देखाएका थिए ।

नवीकरणीय ऊर्जाको भण्डारणमा नयाँ विकल्प

नेपालमा सौर्य तथा जलविद्युत् उत्पादन क्षमता बढ्दै गएसँगै उत्पादित विद्युत्लाई आवश्यक समयमा प्रयोग गर्न सकिने गरी भण्डारण गर्ने प्रविधिको आवश्यकता पनि बढिरहेको छ । विशेषगरी सौर्य विद्युत् उत्पादन मौसम र दिनको समयअनुसार फरक पर्ने भएकाले अतिरिक्त ऊर्जा भण्डारण गरी मागअनुसार प्रयोग गर्न सक्ने प्रणालीको आवश्यकता छ ।

यस्तो अवस्थामा सोलुबल लिड–फ्लो ब्याट्रीले सौर्य तथा जलविद्युत्बाट उत्पादित ऊर्जा दीर्घकालीन रूपमा भण्डारण गर्ने वैकल्पिक प्रविधिका रूपमा सम्भावना बोकेको घाम पावरको भनाइ छ । पुनःप्रयोग गरिएको लिडलाई ऊर्जा भण्डारणमा प्रयोग गर्ने भएकाले यसले पुराना ब्याट्रीबाट निस्कने सामग्रीको व्यवस्थापनसँगै नयाँ ऊर्जा भण्डारणको आवश्यकता सम्बोधन गर्न सक्ने अपेक्षा गरिएको छ ।

यस प्रविधिको विकास तथा प्रदर्शन घाम पावर, युनिभर्सिटी अफ साउथह्याम्प्टन, सोलिड इनर्जी र स्वानबार्टनबीचको सहकार्यमा भइरहेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान तथा स्थानीय आवश्यकता र अनुभवलाई संयोजन गर्दै प्रविधिलाई नेपालको भौगोलिक तथा ऊर्जा प्रणालीअनुकूल बनाउने प्रयास भइरहेको जनाइएको छ ।

घाम पावरका प्रमुख कार्यकारी अधिकृत अञ्जल निरौलाले सरकारको स्वच्छ ऊर्जा विकासको लक्ष्य र नेपालकै उपलब्ध स्रोत तथा आवश्यकतासँग मेल खाने भएकाले पुनःप्रयोग गरिएको सामग्रीमा आधारित यस्तो प्रविधि नेपालका लागि प्रभावकारी हुन सक्ने बताए ।

पुरानो ब्याट्रीलाई ‘नयाँ जीवन’ दिने प्रयास

सोलुबल लिड–फ्लो ब्याट्रीको अर्को महत्वपूर्ण पक्ष ऊर्जा भण्डारणसँगै रिसाइकलिङलाई जोड्नु हो । सामान्यतः प्रयोग भइसकेका ब्याट्रीबाट निस्कने लिडलाई पुनःप्रयोग गर्न सकिन्छ । यही सामग्रीलाई नयाँ ब्याट्री प्रणालीमा प्रयोग गरेर पुरानो ब्याट्रीलाई पुनः ऊर्जा भण्डारणको चक्रमा ल्याउने अवधारणा यस प्रविधिको आधार हो ।

यसले एकातर्फ ब्याट्रीबाट निस्कने फोहोर तथा सामग्री व्यवस्थापनको चुनौती कम गर्न सहयोग पुर्याउन सक्ने र अर्कोतर्फ नवीकरणीय ऊर्जाका लागि आवश्यक भण्डारण प्रणाली विकासमा योगदान गर्न सक्ने अपेक्षा गरिएको छ ।

१८ मेगावाट सौर्य क्षमता स्थापना गरिसकेको दाबी

सन् २०१० मा स्थापना भएको घाम पावर नेपाल प्रालिले हालसम्म ४ हजारभन्दा बढी आयोजनामार्फत १८ मेगावाटभन्दा बढी सौर्य विद्युत् क्षमता स्थापना गरेको जनाएको छ । कम्पनीका अनुसार उसका आयोजनाबाट ८८ हजार ६३६ टनभन्दा बढी कार्बन उत्सर्जन घटेको र ३३ हजार ७३ किलोलीटरभन्दा बढी डिजेल विस्थापन भएको छ ।

कम्पनीले हालसम्मको कामबाट ६० हजारभन्दा बढी जनजीवनमा सकारात्मक प्रभाव परेको दाबी गरेको छ । सौर्य प्रविधिलाई स्मार्ट डाटा प्रणालीसँग एकीकृत गर्दै उद्योग, ग्रामीण समुदाय तथा कृषि क्षेत्रमा स्वच्छ ऊर्जा उपलब्ध गराउने लक्ष्यसहित काम गरिरहेको कम्पनीको भनाइ छ ।

नेपालमा नवीकरणीय ऊर्जाको उत्पादन क्षमता विस्तार हुँदै जाँदा त्यससँगै भण्डारण प्रविधिको विकास पनि आवश्यक बन्दै गएको छ । यस्तो अवस्थामा फोहोरका रूपमा रहेका पुराना ब्याट्रीबाट लिड पुनःप्राप्त गरी ऊर्जा भण्डारणमा प्रयोग गर्ने सोलुबल लिड–फ्लो ब्याट्री प्रविधि नेपालका लागि कति व्यावहारिक र व्यावसायिक बन्न सक्छ भन्ने विषय आगामी अनुसन्धान र प्रदर्शनबाट स्पष्ट हुने देखिन्छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img