Wednesday, November 18, 2026
spot_img

१२१६ मेगावाटको ठोसे–शिवालयको अध्ययन तथा प्रारम्भिक प्रक्रियाका लागि बजेट विनियोजन

spot_img

Share

spot_img

काठमाडाैं । रामेछाप र दोलखाको आर्थिक समृद्धिसँग जोडिएको १२१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत् आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजनाको अध्ययन, अनुसन्धान, वातावरणीय प्रभाव विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन, अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवालासँग छलफल र अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन आग्रह गरेका छन् ।

२ खर्ब ८९ अर्ब लागत, ८ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमाक्षेत्र भएर बग्ने खिम्ती खोलामा बाँध निर्माण गरी आयोजना अघि बढाउने प्रस्ताव गरिएको छ । खिम्ती बजारबाट करिब १० किलोमिटर माथि खिम्ती र तामाकोसी नदीको संगमस्थल नजिक २३१ मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक योजना छ । शिवालय क्षेत्रमा बाँध बनाएर करिब १४ किलोमिटर सुरुङमार्फत विद्युत् उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।

आयोजनाको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ भने अहिले सम्भाव्यता अध्ययन भइरहेको विद्युत् विकास विभागले जनाएको छ । आयोजनाको अनुमानित लागत २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । निर्माण सम्पन्न गर्न करिब ८ वर्ष लाग्ने अनुमान गरिएको छ । प्रारम्भिक अध्ययनले आयोजनाको क्षमता १७०० मेगावाटसम्म पुर्याउन सकिने देखाए पनि अन्तिम क्षमता भने सम्भाव्यता अध्ययनबाट टुंगो लाग्नेछ ।

वार्षिक १ हजार ४११ गिगावाट घण्टा विद्युत् उत्पादन

आयोजनाबाट वार्षिक १ हजार ४११.३५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । त्यसमध्ये वर्षायाममा ८३.४८ गिगावाट घण्टा र सुख्खायाममा १ हजार ३२७.८७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण छ ।

जलाशययुक्त आयोजना भएकाले सुख्खायाममा विद्युत् उत्पादन बढाउन, जलस्रोत व्यवस्थापन गर्न तथा बाढी नियन्त्रणमा सहयोग पुर्याउन सक्ने अपेक्षा गरिएको छ । यसले दुर्गम ग्रामीण क्षेत्रसम्म विद्युत् पहुँच विस्तार गर्नसमेत योगदान पुर्याउने विश्वास गरिएको छ ।

रामेछापको विकास र समृद्धिमा महत्वपूर्ण योगदान

खिम्ती–ठोसे–शिवालय आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई सिँचाइ, खानेपानी, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

आयोजना कार्यान्वयनमा आएमा रामेछाप र दोलखाको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै राष्ट्रिय ऊर्जा उत्पादन वृद्धि, विदेशी लगानी आकर्षण, विद्युत् निर्यात तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

३ करोड रुपैयाँ बजेट विनियोजनसँगै आयोजनाको अध्ययन तथा प्रारम्भिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । सम्भाव्यता अध्ययन, वातावरणीय मूल्याङ्कन, लगानीको सुनिश्चितता र सरोकारवालासँगको समन्वयपछि आयोजना निर्माणको दिशामा अघि बढ्ने बाटो खुल्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img