काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नै लगानीमा राजधानीको नयाँबानेश्वरमा केन्द्रिय कार्यालय भवन निर्माण सुरु गरेको छ । कम्पनीकी अध्यक्ष सिर्जना खड्काले मिति २०८२ कार्तिक २१ गते कम्पनीका सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा भवन निर्माणको शिलान्यास गरिन् ।
करिब २० आना क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनलाई कम्पनीले ‘अपि टावर’ नामाकरण गरेको छ । कम्पनीका अनुसार भवन निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणपछि उक्त भवनमा अपि पावर कम्पनी लिमिटेडसँगै यसको सहायक कम्पनीहरूको कार्यालय रहनेछ ।
अपि पावर कम्पनीका कार्यकारी सञ्चालक संजीव न्यौपानेका अनुसार, ‘अपि टावर अपि पावर र यसको सहायक कम्पनीहरूको साझा सम्पत्ति हुनेछ । यस किसिमको लगानीले शेयरधनीहरूमा कम्पनीप्रतिको विश्वास अझ बलियो हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।
स्थापनाको दुई दशकभन्दा बढी समयको अनुभव, लगानीकर्ताप्रतिको प्रतिबद्धता, पारदर्शी व्यवस्थापन र व्यवसायिक कार्यकुशलताका कारण अपि पावर कम्पनीले लगानीकर्ता तथा आम जनमानसबीच निरन्तर विश्वास बढाउँदै आएको छ । देशमा भएका विभिन्न राजनीतिक र आर्थिक उतार–चढावबीच पनि कम्पनीले लगानी सुरक्षित राख्न सफल रहँदै व्यावसायिक सफलता हासिल गर्दै आएको छ ।
अपि पावरले सफल आयोजना सञ्चालनसँगै आगामी परियोजनाहरू र दीर्घकालीन योजनामार्फत लगानीकर्ताहरूलाई थप विश्वास दिलाउँदै अघि बढ्ने जनाएको छ ।
दुई दशकदेखि नवीकरणीय ऊर्जाको अग्रणी विकासकर्ता: अपि पावर
नेपालमा नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनी हो, अपि पावर कम्पनी लिमिटेड । कम्पनीको व्यावसायिक सफलता नेपालको नवीकरणीय ऊर्जा परियोजनाहरूको पहिचान, रणनीतिक विकास, समयमै परियोजना सम्पन्नता, जलविद्युत र सौर्य स्रोतहरूको विविधिकरण तथा पारदर्शी वित्तीय कार्यसम्पादनमा आधारित रहेको छ । यी तत्वहरूले अपि पावरलाई देशकै अग्रणी सार्वजनिक ऊर्जा विकासकर्ता कम्पनीको रूपमा स्थापित गराएका छन् ।
यसको उदाहरणका रूपमा सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लामा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना उल्लेखनीय छ, जसको विकास, निर्माण र सञ्चालन केवल १७ महिनाभित्र सम्पन्न गरी वि.सं. २०७२ भदौदेखि व्यावसायिक उत्पादनमा ल्याइएको थियो । यस आयोजनाले देशकै दुर्गम क्षेत्रमा बिजुली पुर्याउँदै दक्षता र समयपालनाको नयाँ मापदण्ड स्थापित गरेको छ ।
दार्चुला जिल्लामा नै कम्पनी अन्तर्गत ८ मेगावाट क्षमताको अप्पर नौगड गाढ जलविद्युत आयोजना र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना संचालनमा छन् । यसरी जलविद्युततर्फ अपि पावरका कुल ५६.५ मेगावाट क्षमताका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई नेपाल विद्युत् प्राधिकरणलाई बिक्री भइरहेको छ ।
नेपाल सरकारको ऊर्जा मिश्रण नीतिअनुरूप अपि पावरले सौर्य ऊर्जा उत्पादनमा पनि समान रूपले ध्यान केन्द्रित गरेको छ । कम्पनीले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपुर सौर्य आयोजना, १–१ मेगावाट क्षमताका ढल्केवर र सिमरा सौर्य आयोजना गरी जम्मा ६ मेगावाट क्षमताका सौर्य आयोजना सञ्चालनमा ल्याइसकेको छ । यसका साथै, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा ८ मेगावाट क्षमताको परवानीपुर सौर्य आयोजना निर्माणाधीन अवस्थामा छ ।
कम्पनीले व्यवसाय विस्तारका क्रममा मुनाफादायी जलविद्युत परियोजनाहरूमा लगानी पनि बढाइरहेको छ । पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा अवस्थित ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्गवा खोला जलविद्युत आयोजनामा अपि पावरको २५ प्रतिशत लगानी छ, जुन इङ्गवा हाईड्रोपावर लिमिटेडमार्फत सञ्चालित र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनी हो ।
त्यसैगरी, अपि पावरले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको ५९.६७ प्रतिशत बहुमत संस्थापक शेयर खरिद गरी यसको मातहत नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ । यस कम्पनीको साधारण शेयर सार्वजनिक निष्काशनका लागि नियामक निकायमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
हालसालै अपि पावरले दार्चुला पावर लिमिटेडको बहुमत स्वामित्व प्राप्त गरी २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना आगामी २० महिनाभित्र सम्पन्न गरी उत्पादनमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ ।
यसबाहेक, कम्पनीले नुवाकोट जिल्लामा ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजना र दार्चुला जिल्लामा ९.७ मेगावाट क्षमताको न्वागाढ जलविद्युत आयोजनाको सर्वेक्षण कार्य अघि बढाइरहेको छ ।
व्यवसाय विस्तारका क्रममा कम्पनीले पूर्ण स्वामित्वमा अपि इन्फ्रा लिमिटेड स्थापना गरी ललितपुर महानगरपालिका, झम्सीखेलमा आवासीय भवन निर्माण कार्य समेत अगाडि बढाइरहेको छ ।
अपि पावर कम्पनीका यी विविध परियोजना तथा लगानीहरूले नवीकरणीय ऊर्जामा कम्पनीको अग्रणी भूमिका झल्काउने मात्र होइन, दीर्घकालीन ऊर्जा सुरक्षातर्फको राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत महत्वपूर्ण योगदान दिइरहेको छ ।








