काठमाडाैँ । धवलागिरि गाउँपालिकामा निर्माणाधीन माथिल्लो म्याग्दी जलविद्युत् आयोजना १३ महिनामै करिब ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । हाइड्रो इम्पायर लिमिटेडको प्रवर्द्धनमा निर्माण भइरहेकाे आयोजनाकाे काम अपेक्षाभन्दा तीव्र गतिमा अघि बढेकाे हाे ।
आयोजना प्रमुख रमेश सुवेदीका अनुसार बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन र इलेक्ट्रोमेकानिकल संरचनाका कामहरू समानान्तर रूपमा सञ्चालन भइरहेका छन् । कुल ६,४२५ मिटर लामो मुख्य सुरुङमध्ये ४,२२० मिटर निर्माण सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा तीव्र रूपमा काम भइरहेको छ । बाँधस्थल, अडिट तथा आउटलेटबाट सुरुङ खन्ने कार्य जारी छ भने घिम्लेटी क्षेत्रमा विद्युत्गृह निर्माण अगाडि बढेको छ ।
आउटलेटदेखि विद्युत्गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । आयोजनाका अधिकांश संरचना भूमिगत रूपमा निर्माण भइरहेका छन् भने घिम्लेटीमा प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ ।
सुरुवाती ३७ मेगावाट क्षमतालाई बढाएर ४६.२५ मेगावाट पुर्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । डिजाइन परिमार्जनमार्फत थप जग्गा अधिग्रहण वा वन क्षेत्र प्रयोग नगरी पानीको वहाव क्षमता वृद्धि गरिएको आयोजनाले जनाएको छ ।
करिब ८ अर्ब ४६ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिद्धार्थ बैंकको नेतृत्वमा नेपाल एसबीआई, सिटिजन्स, एभरेष्ट र नबिल बैंकले सहलगानी गरेका छन्। लगानी संरचना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा आधारित छ।
उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यसका लागि करिब १० किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ ।
आयोजनाले स्थानीय पूर्वाधार विकासमा समेत योगदान पुर्याएको छ। शिवरात्रि खोलादेखि बाँधस्थलसम्म पहुँचमार्ग निर्माण गर्नुका साथै खिवाङ र चेचुङ गाउँमा सडक विस्तारमा सहयोग गरिएको छ ।
छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरेको माथिल्लो म्याग्दी आयोजना समयमै सम्पन्न भएमा राष्ट्रिय ऊर्जा आपूर्तिमा टेवा पुग्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।








