काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजना निर्माणमा ढिलासुस्ती नगर्न आग्रह गर्दै तोकिएको समयसीमाभित्र काम सक्नुपर्ने बताएका हुन् । उनले कर्णालीजस्तो दुर्गम क्षेत्रमा पनि आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको भन्दै त्यसप्रति खुसी व्यक्त गरे ।
मन्त्री श्रेष्ठले जगदुल्ला आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्नुका साथै राष्ट्रिय ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । निर्माणका क्रममा आउने प्राविधिक तथा प्रशासनिक समस्या समाधान गर्न मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको पनि उनले बताए ।
“निर्माणका क्रममा देखिने समस्या तुरुन्त मन्त्रालयलाई जानकारी गराउनुहोस् । समाधान तत्काल खोजिन्छ, तर आयोजना निर्माणमा कुनै ढिलाइ हुन हुँदैन,” मन्त्री श्रेष्ठको भनाइ थियो ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गत डोल्पामा १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र १२४.३५ मेगावाट क्षमताको जगदुल्ला ‘ए’ अर्धजलाशययुक्त आयोजना निर्माणाधीन छन् ।
कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौत को पनि सहभागिता रहेको थियो । सरकारले यी आयोजना सम्पन्न भएपछि डोल्पा क्षेत्रको भौतिक पूर्वाधार विकास, रोजगारी तथा आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरेको छ ।








