काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणअन्तर्गतको तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७७.५ प्रतिशत पुगेको जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको जुन २०२६ को प्रगति विवरणअनुसार आयोजनाको मुख्य बाँध निर्माण, जलमार्ग तथा विद्युत्गृह, साथै २२० केभी प्रसारण लाइन निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।
मुख्य बाँध निर्माणअन्तर्गत हालसम्म ४ लाख ४८ हजार ५१६ घनमिटर कंक्रिट ढलान सम्पन्न भएको छ । जुन महिनामा मात्रै २४ हजार ३९६.५ घनमिटर कंक्रिट ढलान गरिएको कम्पनीले जनाएको छ । मुख्य बाँधको निर्माण प्रगति ६२ प्रतिशत पुगेको छ ।
जलमार्ग, विद्युत्गृह तथा सम्बन्धित उपकरण रहने दोस्रो प्याकेजको भौतिक प्रगति ७८.५ प्रतिशत पुगेको छ । यसअन्तर्गत अधिकांश भूमिगत सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ भने विद्युत् उत्पादनका लागि आवश्यक इलेक्ट्रो–मेकानिकल उपकरण जडानको काम पनि अघि बढिरहेको छ ।
त्यसैगरी तनहुँ–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणअन्तर्गत ९४ मध्ये ८२ वटा टावरको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । ७२ वटा टावर खडा गरिएको छ भने यस प्याकेजको समग्र प्रगति ८१ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।
आयोजनाले वातावरणीय तथा सामाजिक व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ । निर्माणस्थलमा नियमित वातावरणीय अनुगमन, स्वास्थ्य तथा सुरक्षा निरीक्षण, सामुदायिक वन उपभोक्ता समूहलाई सुरक्षित रूख कटानसम्बन्धी तालिम तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
कम्पनीका अनुसार हालसम्म ९८ वटा सामुदायिक विकास आयोजना सम्पन्न भएका छन् भने थप ६ वटा आयोजना निर्माणाधीन छन् । आयोजना प्रभावित क्षेत्रमा मुआब्जा, पुनर्स्थापना तथा सामाजिक सुरक्षासम्बन्धी कार्य पनि अघि बढाइएको छ ।
यसैबीच तनहुँ जलविद्युत् आयोजनाबाट नियमित रूपमा पानी उपयोग गर्ने उद्देश्यले १२६ मेगावाट क्षमताको लोअर सेती जलविद्युत् आयोजना विकास प्रक्रिया पनि अघि बढाइएको छ । कम्पनीले उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको जनाएको छ ।








